काठमाण्डु – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा केन्द्रीय प्रतिनिधि खटनमा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ । संस्थापनले एकलौटी प्रतिनिधि खटाएको भन्दै पार्टीभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहका नेविसंघका सदस्यहरूले समानान्तर रूपमा प्रतिनिधि खटाएका छन् ।
नेविसंघमा इतर समूहको नेतृत्व गरेकी केन्द्रीय सदस्य प्रेमिका राना मगरेले छुट्टै विज्ञप्ति निकालेर १२ औं महाधिवेशन गर्न सदस्यता वितरण सहजीकरण गर्न भन्दै केन्द्रीय प्रतिनिधिहरू तोकेकी छन् ।
नेविसंघमा नियमित महाधिवेशन हुन नसकेपछि पार्टीले महाधिशनको जिम्मेवारीसहित दुजाङ शेर्पा अध्यक्ष रहेको ७१० सदस्यीय केन्द्रीय तदर्थ समिति बनाएको छ ।
अध्यक्ष शेर्पाले गत पुस २ गते सदस्यता वितरणका लागि भन्दै सबै जिल्ला र एक सय १३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेका थिए। केन्द्रीय प्रतिनिधि तोक्दा आफूहरूसँग कुराकानी नगरिएको र एकलौटी गरेको आरोपसहित शेखर कोइरालानिकट केन्द्रीय सदस्य राना मगरसहितले छुट्टै केन्द्रीय प्रतिनिधि तोकेका छन् ।
कोइरालानिकट राना मगरले पुस ५ गते विज्ञप्ति निकालेर ७७ वटा क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेकी छन्।
कांग्रेसले चैतभित्रै नेविसंघको १२ औं महाधिवेशन गर्न निर्देशन समिति बनाए पनि समितिले पनि नेविसंघमा देखा परेका विवाद हल गर्न सकेको छैन।
नेविसंघ संस्थापन पक्षले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापानिकट नेविसंघ केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएपछि कोइरालानिकटले विरोध गर्दै बेग्लै प्रतिनिधि खटाएका हुन्।
दुवैले पुस ७ गतेदेखि केन्द्रीय प्रतिनिधिहरू क्याम्पस पुगेर सदस्यता वितरण र इकाइ अधिवेशन गर्ने भनिए पनि एकै क्याम्पसमा दुई केन्द्रीय प्रतिनिधि तोकिएकोले कुन आधिकारिक हुने भन्नेमा विवाद देखा परेको छ।
गैरसांगठनिक क्रियाकलापमा अध्यक्ष शेर्पाले अग्रसरता देखाएको भन्दै केन्द्रीय सदस्य राना मगरले पार्टी निर्देशक समिति र केन्द्रीय समितिबाट छानबिनको माग गर्दै पुस ४ गते विज्ञप्ति निकालेकी थिइन्।




प्रतिक्रिया