कांग्रेसले २० जना समानुपातिक सांसदको नाम टुंग्यायो, १५ जना महिला अनिवार्य

कांग्रेसले २० जना समानुपातिक सांसदको नाम टुंग्यायो, १५ जना महिला अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले समानुपातिक तर्फका २० जना सांसदको नाम टुंग्याएको छ ।

आईतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुंग्याएको हो ।

कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनले भने, ‘गत निर्वाचनको कुल सदर मत १ करोड ८ लाख ३५ हजार ३५ मध्ये नेपाली कांग्रेस पार्टीले १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको थियो । निर्वाचन आयोगको नियम बमोजिम हामीले प्राप्त गरेको मतको आधारमा २० वटा सिट संख्या प्राप्त गरेको छ । २० जना प्रतिनिधि पठाउँछौं, त्यसमा १५ जना महिला अनिवार्य छ । आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट मिलाएर अन्य सांसद चयन गरिएको छ ।’

उनले संघीय संसद्‍मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए । उनले विभिन्न क्लस्टर मिलाएर समानुपातिक सांसद छानिएको र आईतबार नै निर्वाचन आयोगमा नामावली बुझाइने जानकारी दिए ।

प्रवक्ता चालिसेले बन्दसूचीमा आधारित भएरै निर्णय गरिएको र आयोगले रुजु गरेपछि नामावली सार्वजनिक हुने बताए ।