काठमाण्डु – कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री प्रकाशशरण महत महामन्त्री हुने टुंगो लागेको छ । संस्थापन पक्षबाट महामन्त्रीका लागी विश्वप्रकाश शर्मा, ज्ञानेन्द्र कार्की, बालकृष्ण खाण र एनपी साउदलगायतका नेताहरुको दावी छ । दुई महामन्त्रीमा एउटामा महतको टुंगो लागेपनि अर्कोमा भने दाबेदार धेरै भएपछि देउवालाई अफ्ठेरो परेको छ ।
संस्थापनइतरको पक्षबाट महामन्त्रीमा गगन थापा उम्मेदवार हुने सम्भावना भएपछि विश्वप्रकाश शर्मालाई महामन्त्रीको उम्मेदवार बनाउन देउवा समुहभित्र दबाव बढेको छ । तर, शर्माभन्दा सिनियर नेताहरु खांड र कार्कीले दाबी नछोडेपछि देउवालाई अफ्ठेरो भएको हो ।
महामन्त्रीमा टुंगो लागेका महत देउवाका विश्वासिला पात्र हुन । उनि यसअघि परराष्ट्रमन्त्री समेत बनेका नेता थिए । महामन्त्रीको अर्को सीटमा कृष्णप्रसाद सिटौला पक्षबाट युवा नेता प्रदीप पौडेललाई समेट्ने सम्भावना समेत बढेको छ ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्ण सिटौलालाई आफ्नो टिममा ल्याएर उपसभापति लडाउने प्रयास जारी राखेका छन् । उनले महामन्त्री समेत मागरिहेको कांग्रेस स्रोतले जानकारी दियो ।
त्यसमा सहमती भएको खण्डमा प्रदिपको महामन्त्रीको उम्मेदवारी हुने सम्भावना छ । तर, प्रदिप कार्की र खांडभन्दा जुनियर भएकाले त्यसले देउवालाई अफ्ठेरो पर्न सक्छ । त्यो अवस्थामा उनलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने सम्भावना पनि छ ।
देउवा पक्षबाटै भए अन्तिममा कार्की र खांडमध्ये एउटा महामन्त्रीको उम्मेदवार बन्नेछन् ।




प्रतिक्रिया