कंचनपुर- मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेताहरु जिल्ला दौडाहा निस्कने क्रम जारी छ । कंचनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा समेत चुनावी माहोल सुरु भएको छ । यो निर्वाचन क्षेत्रबाट अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर सांसद छिन् ।
मगर बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएर निर्वाचित हुंदै खानेपानि मन्त्री समेत बनिन् । तर, यसपटक माओवादी केन्द्रले कांग्रेससंग गठबन्धन गर्ने निर्णय गरेकाले यसपटक पनि मगर नै उम्मेदवार बन्ने चर्चा छ ।
यो निर्वाचन क्षेत्रमा दुई वटा नगरपालिका र दुई वटा गाउंपालिका छन् । जहां एउटा नगरपालिका मात्र माओवादी केन्द्रले जितेको छ भने बांकी एउटा नगरपालिका र एउटा पालिका कांग्रेसले जितेको छ । एमालेले समेत एउटा गाउंपालिका र एउटा नगरपालिकामा उपमेयर जितेको छ ।
कांग्रेसबाट नेपाली कांग्रेसका नेता दिवासिंह बिष्टले माओवादी केन्द्रसंग कुनै पनि हालतमा यो क्षेत्रमा गठबन्धन नहुने भन्दै आफु नै उम्मेदवार बन्ने भन्दै प्रचार गरिसकेका छन् । उता एमालेबाट एमालेका पूर्व जिल्ला अध्यक्ष विरबहादुर थापा, नेताहरु भक्तबहादुर अधिकारी र खेम सुवेदीलगायत प्रतिस्पर्धामा छन् ।
गठबन्धनमा मगरका कारण किचलो सुरु भएको छ । संविधानसभा सदस्य रहेका बिष्टले मगरलाई कुनै हालतमा पनि नमान्ने भन्दै चुनावी प्रचार सुरु गरेपछि मगर अफ्ठेरोमा परेकी छन् । कंचनपुरका अरु दुई क्षेत्रमा रमेश लेखक र एनपी साउंद उम्मेदवार बन्ने भएपछि अर्को पक्षबाट आफुले टिकट पाउनुपर्ने विष्टको दावी छ ।
माओवादीको जनआधार कमजोर भएकाले विनालाई यो क्षेत्रमा कांग्रेसको सहयोग विना जित्न कठिन छ । करिव ३ वर्ष खानेपानी मन्त्री रहेकी विनाले यो क्षेत्रको विकासका लागि कुनै काम नगरेको भन्दै स्थानिय जनता र उनकै कार्यकर्ता समेत रुष्ट छन् ।
माओवादीका ७० प्रतिशतभन्दा बढी कार्यकताले उनकै कार्यशैलीका कारण पार्टी परित्याग गरिसकेका छन् भने केही दिनमै ठुलो संख्यामा पार्टी छोड्ने तयारी रहेको स्रोत बताउंछ ।
कांग्रेसका उम्मेदवार विष्ट लामो समय फिल्डमै खटिएका नेता हुन् । उनि प्रधानमन्त्री शेरबहादुर देउवाको गुटका नभई शेखर कोइराला समुहसंग आवद्ध छन् । विष्ट अहिले राजधानीमा नेताहरुसंग टिकटकै लागि छलफलमा छन् । सामाजिक संजालमा समेत उनि निकट कार्यकर्ताले विनालाई कुनै पनि हालतमा सहयोग गर्न नसकिने भन्दै अभियान सुरु गरिसकेका छन् ।
विना ०७० सालको निर्वाचनमा कांग्रेस नेता विष्टसंगै पराजित भएकी थिईन भने पछि विष्ट मगर बाम गठबन्धनको उम्मेदवार बनेपछि पराजित भएका थिए । एमाले नेता थापाको पनि यो क्षेत्रमा बलियो पकड छ । थापाले एमालेबाट चुनाव लडेको खण्डमा उनले जित्ने सम्भावना धेरै रहेको विश्लेषण हुन थालेको छ ।
हाल समाजवादीमा रहेका नेता तारा लामा तामाङ एमाले फर्केमा उनले समेत एमालेबाट टिकट पाउने चर्चा छ । उनिसंगै प्रदेश सांसद कुलविर चौधरी समेत एमालेमा फर्कनेमा छन् ।
यदि गठबन्धन बनेको अवस्थामा प्रतिनिधिसभामा मगर, प्रदेशसभा क मा समाजवादीका नेता तामाङ र ख मा दिवान विष्टलाई दिने गरी गठबन्धनमा छलफल चलिरहेको छ । उता समाजवादीबाट लामाले नै प्रतिनिधिसभामा आफ्नो दावी गरेका छन् ।
विष्टले मुख्यमन्त्री बनाउने आश्वासन पाएमा उनले मगरलाई छोड्ने सम्भावना रहेको उनि निकट स्रोत बताउंछ । त्यसो गर्दा प्रदेश ख मा गोपी उपाध्याय उम्मेदवार बन्नेमा छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको लागि माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्टले सिट छोड्ने भएपछि उनलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । त्यो अवस्थामा विष्टलाई मुख्यमन्त्री बनाउने सम्भावना समेत कम छ ।
गठबन्धनले सिट बांडफांडका लागि कार्यदल बनाएर काम सकेपनि सिट बांडफांडमा भने सकस हुने देखिएको छ । कांग्रेसभित्र टिकटका लागि दुवै पक्षबीच किचलो सुरु भइसकेको छ । कांग्रेसका प्रभावशाली नेताहरु मोहन बस्नेत, विरबहादुर बलायर,राजिव शाह र अमरेश सिहंलगायतले आफुले कुनै पनि हालतमा नछोड्ने बताइरहेका छन् । त्यो अवस्थामा शिर्ष नेताहरुको क्षेत्रमा मात्र गठबन्धन हुने सम्भावना बढी छ ।
कंचनपुरमा शिर्ष तहमा गठबन्धन बनेको अवस्थामा तिनै पक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ । त्यो अवस्थामा सबैभन्दा कमजोर उम्मेदवार विना मगर हुने विश्लेषण हुन थालेको छ ।




प्रतिक्रिया