कांग्रेसमा पौडेल,सिटौला र सिंह मिले, सभापति देउवालाई पार्टीभित्रै चुनौती


काठमाडौँ – कांग्रेसको संस्थापन इतर पक्षले पार्टी सुधारका निम्ति नेतृत्व परिवर्तनको मुद्दालाई मुख्य एजेन्डा बनाएर देशव्यापी अभियान थाल्ने उद्घोष गरेको छ । वर्तमान नेतृत्वबाट दुई तिहाइ जनमत बोकेको कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्न नसकिने निचोड यो समूहले निकालेको छ ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुमा नेतृत्वको कार्यशैलीलाई मुख्य दोष दिँदै आएको संस्थापन इतर पक्षीय नेताहरूले नेतृत्व परिवर्तनको मुद्दालाई जिल्ला सभापति भेला, महासमिति बैठक हुँदै पार्टीको तल्लो पंक्तिसम्म पुर्‍याउने तयारी गरेका छन् ।

आगामी १४ औं महाधिवेशनलक्षित यो अभियानमा संस्थापन इतर पक्षको नेतृत्व लिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले खुट्टा नकमाउने बताए । नेविसंघले सोमबार राजधानीमा गरेको कार्यक्रममा पौडेलसहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलसहितका नेताहरूले नेतृत्व परिवर्तन नगरेसम्म कांग्रेसमा सुधार आउन नसक्ने दाबी गरेका थिए ।

१३ औं महाधिवेशनपछि पानी बाराबार गरेका कांग्रेस नेता पौडेल र पूर्वमहामन्त्री सिटौला पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा सोमबार एउटै मञ्चमा देखिएनन् मात्रै, हात मिलाएरै कांग्रेस सुधारको अभियानमा एकजुट हुने उद्घोषसमेत गरे । पौडेलले सिटौलालाई लक्षित गर्दै अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेजस्तो आफैंलाई भएको भन्दै व्यंग्यसमेत हाने । तर, उनले विगतको इतिहास नकोट्याई अभियानमा खुट्टा नकमाइकन अघि बढ्ने बताए ।

सिटौलाले पनि विगतको ‘ह्याङओभर’ मा नभएर वर्तमान र भविष्यका लागि पौडेलसँगै हिँड्ने बताए । कार्यक्रममा संस्थापन इतर पक्षमा रहेका महामन्त्री शशांक कोइराला र शेखर कोइराला भने उपस्थित थिएनन् । वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मुद्दामा शेखर एककदम अघि छन् । तर महामन्त्री शशांक पार्टी एकजुट बनाउनुपर्छ भन्दै यो विषयमा मौन बस्दै आएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement