कांग्रेसको नजर चुनावतिरै

कांग्रेसको नजर चुनावतिरै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै वैशाखका लागि तोकिएको निर्वाचन बदर गरिदिएपनि अझै चुनावको चर्चा सेलाएको छैन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा फसेपछि कांग्रेस नेताहरूबाट चुनावतिरै जानुपर्ने धारणा आइरहेका छन् ।

गत शुक्रबार नुवाकोटमा आयोजित प्रथम छहरे ऐतिहासिक महोत्सव तथा व्यापार मेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘चुनावमा जाँदा नै हामीलाई फाइदा छ । जनताले कम्युनिस्टलाई चिनिसक्यो । यो पुनःस्थापित संसद धेरै दिन चल्दैन, चल्ने छाँटकाँट मैले देखेको छैन । कांग्रेस कसैले पिछलग्गु बनेर सरकारमा जानेवाला छैन । ढिलोचाँडो निर्वाचन हुन्छ, निर्वाचन जितेर कांग्रेसले शासन चलाउँछ । ५ वर्षका लागि सत्तामा आउने बाटोका लागि कांग्रेस जनतामा जान्छ ।’

हालै सिन्धुलीको तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस गाउँ कार्यसमितिले आयोजना गरेको आमसभामा पूर्वमन्त्री तथा सांसद गगनकुमार थापाले भने, ‘यदि संसद विघटन सदर भएको भए संविधान मिचेर चुनाव हुन्थ्यो तर अब संविधानको ट्रयाकमा बसेर देश चुनावमा जान्छ । हामी सरकारमा जान्छौं तर कसैको भागमा रमाएर होइन, निर्वाचनमा सानदार जीतसहित जान्छौं ।’

नेता थापाले कांग्रेस कसैको भागमा रमाउने नभई चुनावबाट सरकारमा जाने बताए । कांग्रेस नेताहरूले अहिलेको प्रतिनिधिसभामा जनताले नेकपालाई बहुमत दिएर सरकार चलाउने जिम्मा दिएकाले सरकारमा जाने भाग उसकै भएको तर्क गर्ने गर्छन् ।

नेपाल निजामती कर्मचारी युनियन संघ मोरङले हालै विराटनगरमा गरेको कार्यक्रममा नेता डा. शेखर कोइरालाले कांग्रेसले अहिले सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न नसुहाउने बताए । ‘जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन् । सिंगो पार्टीपंक्ति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन । अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिँड्न सकिन्न ।’

कांग्रेसमा कुनै गुट वा पक्ष मात्रै होइन, सबैतिर नेकपाका कुनै पनि पक्षसँग मिलेर सरकार बनाउन नहुने धारणा जबरजस्त छ । नेकपा विभाजन भएको बेला चुनाव भए एक्लै बहुमत आउने आशा समेत कांग्रेस नेताहरूलाई छ । तसर्थ कांग्रेस नेताहरूलाई सरकारमा जानुभन्दा चुनावमा जान हतार छ ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नुअघि नै कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावका लागि हतारो गरेका थिए । बुटवलको भैरहवामा भएको सभामा देउवाले भनेका थिए, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु – प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ । ओलीले बैशाखसम्म चुनाव गराउँछु भनेको छ । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । निर्वाचन आयोगले जनतालाई भन्नुप¥यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’

कांग्रेस नेताहरूको चुनावप्रति आकर्षण मात्रै छैन, अहिलेको पुनःस्थापित संसद छिट्टै विघटन हुने पूर्वानुमान समेत गरेका छन् । नेकपा विभाजन भइसकेर औपचारिकता पाउन मात्रै बाँकी रहेको र नेकपा औपचारिक विभाजनपछि कांग्रेस सरकारमा नगए सरकार बनाउन कसैको पनि बहुमत नपुगेर प्रतिनिधिसभा संविधानतः विघटन हुनेछ ।

कांग्रेस नेताहरू छिट्टै नेकपा विघटन भएर प्रतिनिधिसभा विघटनको प्रक्रिया अगाडि बढोस् भन्ने चाहिरहेका स्रोतले जनाएको छ । नेकपा औपचारिक रूपमा विभाजन नभएसम्म संसद विघटनमा ढिलाइ हुने र त्यसले चुनाव पनि ढिला हुने नेताहरूको अनुमान छ । अर्काेतिर कांग्रेस महाधिवेशनको संघारमा रहेकाले सभापति देउवापक्षीय नेताहरू पार्टी महाधिवेशनअघि प्रतिनिधिसभा निर्वाचन होस् भन्ने चाहन्छन् । तसर्थ देउवाले छिट्टै नेकपा विभाजन होस् भन्ने पहल गरिरहेका छन् ।

भावी सरकार गठनका लागि प्रस्ताव लिएर बुढालनिलकण्ठ पुगेका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई समेत देउवाले पार्टी आधिकारिकता ल्याएर आउन जवाफ दिएका थिए । अहिले प्रचण्ड–नेपाल पक्षले पार्टी आधिकारिता देखाउन सक्ने अवस्था छैन । नेकपा विभाजन नहुँदासम्म बहुमतको खेल नेकपाभित्रै सीमित भएको छ । बहुमतको खेलमा अन्य पार्टी सहयोगी नै हुन नपाउने भएपछि सरकार फेरबदलको विषय पनि नेकपाभित्रकै आन्तरिक विषय बनेको छ ।