काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधबीच सत्तापक्ष राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट टुंगो लगाउने कसरतमा छ । सोमबार कार्यसूचीमा रहे पनि कांग्रेसले संसद् अवरुद्ध गरेपछि प्रस्तुत हुन नसकेको विधेयक मंगलबार पेस गर्ने तयारीमा सत्तारूढ नेकपा लागेको हो ।
अपराह्न ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सोमबारकै प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने योजनासहित कार्यसूचीको सातौँ नम्बरमा राखिएको थियो । तर, कांग्रेसको विरोधका कारण रोकिएको थियो ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् । ‘सोमबार पनि ह्विप थियो, मंगलबार पनि छ । मंगलबार जसरी पनि संसद् चल्छ,’ सांसद झपट रावलले भने ।
अर्का एक सांसदले प्रधानमन्त्री स्विट्जरल्यान्डबाट फर्किनुअघि विधेयकको झन्झट सकिने बताए । ‘प्रधानमन्त्रीज्यूले स्विट्जरल्यान्ड उड्ने क्रममा आफू आउँदा चिकित्सा शिक्षा विधेयकको झन्झट फेरि सुन्न नपरोस् भन्नुभएको छ भन्ने आएको छ । अब यो जसरी पनि टुंगिन्छ,’ ती सांसदले भने । कांग्रेसले मंगलबार संसद् बैठकअघि मध्याह्न १२ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । आजको नयांपत्रिका दैनिकमा समाचार छ ।




प्रतिक्रिया