काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि राजनीतिक दलहरू विरोधमा उत्रिए । सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेकपा प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठकले समान धारणा बनायो ।
कांग्रेस पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको थियो, ‘प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएकोले तीनै दलको समान धारणा छ । उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।’
आगामी आन्दोलनका कार्यक्रम तय गर्न आ–आफ्नो दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी सर्वदलीय बैठकले गरेको थियो । जसअनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । घोषित कार्यक्रम अन्तर्गत पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष बनाउनेबाहेक ठोस आन्दोलनका कार्यक्रमबारे निर्णय गरेन । प्रचण्ड–नेपाल समूह नेकपा पार्टीको वैधानिकता आफ्नो हात पार्ने लडाइँमै रुमल्लिने देखिएको छ । नेकपाका नेताहरू कानूनी लडाइँका लागि निर्वाचन आयोगदेखि सर्वाेच्च अदालत धाउनेमै केन्द्रित छन् ।
कांग्रेसको ढुलमुले पारा
साझा संघर्षका लागि सर्वदलीय बैठक कांग्रेसकै नेतृत्वमा भएपनि कांग्रेसको भूमिका ढुलमुले देखिएको छ । कांग्रेसमा संसद विघटनको सामान्य विरोध गर्दै बैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने मत बलियो देखिएको छ ।
संवैधानिक परिषद्को बैठकबाट प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवा निकट जयबहादुर चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेपछि ओली–देउवा साँठगाँठको आशंका गरिँदैछ । त्यसको संकेत मंगलबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समेत देखिएको छ ।
कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमिति बैठक राखेपनि निर्णय लिएन । बरु बुधबारका लागि बैठक सारेको छ । मंगलबार ५ जनाले मात्रै धारणा राखे । संसद विघटनको विरोध गरिरहेको कांग्रेसले सर्वदलीय बैठकको समझदारी अनुसार मंगलबार नै आन्दोलन घोषणा गर्न सक्थ्यो । तर कांग्रेसले यसमा ढिलाइ गरिरहेको छ । ‘पर्ख र हेर’ नीति लिएको छ ।
मंगलबारको बैठकमा देउवा निकट केन्द्रीय सदस्य एनपी साउँदले कांग्रेस आन्दोलनभन्दा पनि चुनावमा केन्द्रित हुनुपर्ने भनेर विचार राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अर्का केन्द्रीय सदस्य डा. नारायण खड्काले समेत पार्टी निर्वाचन केन्द्रित हुनुपर्ने मत राखेका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ओली सरकारविरुद्ध प्रचण्ड–नेपाल समूहसँग मिलेर संघर्ष गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेस बैठक बुधबार फेरि बस्दैछ ।
कांग्रेसको पारा देखेपछि जसपा नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘संकटको बेला अर्जुनदृष्टि, एकलव्यध्येय, भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो । ओली–भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ । संविधानका मूलमर्म, आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ । नत्र न रहे बाककस न बजे बाककसुरी हुनेछ । सबैलाई चेतना भया !’
साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको मत पनि चुनावभन्दा विरोधमा जोड दिनुपर्ने छ । उनले लेखेका छन्, ‘चुनावी फाइदालाई हेरेर संविधानमाथि घातक धावा बोलिँदा पनि कयौं नेता तथा नागरिक संकटको निकास चुनावबाटै निस्किन्छ भनिरहेका छन् । लोकतान्त्रिक संविधानको जग नै खलबलाएर त्यो घरभित्र जो पसे पनि उसको भविष्य अनिश्चित हुनेछ भन्ने बुझ्न जरुरी छ । त्यसैले हामी संसद विघटनको निरन्तर विरोधमा छौं ।’
प्रचण्ड र बाबुरामलाई अर्काे संकट !
ओली सरकारविरुद्ध सर्वदलीय संघर्ष गर्नुपर्ने योजनामा रहेका नेकपा अध्यक्ष प्रचण्ड र जसपा संघीय परिषद् अध्यक्ष भट्टराईलाई कांग्रेसको ढुलमुले पाराले अर्काे संकट निम्त्याउने देखिएको छ । संसद विघटन गरेर निम्तिएको संकटपछि ओली–देउवा मिल्दा प्रचण्ड–बाबुराममाथि अर्काे संकट निम्तिनेछ । प्रतिपक्षी दल र नेताहरू एकजुट नभई ओलीविरुद्धको आन्दोलन कमजोर पर्ने नेताहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीले जसपा फुटाउन अध्यादेश ल्याएको र सांसद अपहरण प्रकरणदेखि नै डा. भट्टराई ओलीविरुद्ध इगो लिएर बसेका छन् । ओलीलाई जसरी पनि सत्ताच्युत गर्नुपर्ने भट्टराईको माग रहँदै आएको छ । अध्यक्ष प्रचण्डसँग पनि ओलीको सम्बन्ध खराब बनेको छ । ओलीलाई झुकाउन नसकेको अवस्थामा प्रचण्डलाई ठूलो असफलता हुनेछ । ओलीलाई झुकाएर संसद पुनःस्थापना गराउन प्रचण्डलाई देउवाको साथ अनिवार्य जस्तै देखिन्छ । तर देउवाको ढुलमुले पारा कायमै रहे प्रचण्डमाथि संकट आउने देखिएको छ ।




प्रतिक्रिया