अनुमति पाए नेपालमा २५ करोड डलर लगानी गर्ने एनसेलका सिइओको घोषणा

अनुमति पाए नेपालमा २५ करोड डलर लगानी गर्ने एनसेलका सिइओको घोषणा


काठमाण्डु- दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल फोले अनुमति पाए नेपालमा २० करोडदेखि २५ करोड डलर लगानी गर्न तयार रहेको घोषणा गरेका छन्।

ललितपुरमा जरी ‘कान्तिपुर कन्क्लेभ’अन्तर्गत ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनः स्थापना’ सत्रमा सोमबार उनले भने, ‘एनसेललाई अनुमति दिएमा फाइभजी ल्याउछौं। हामी धेरै विश्वस्त छौं । हामी लगानी गर्न चाहन्छौं । अनुमति दिइएमा हामी लगानी गर्छौं। हामी डेटा सेन्टरहरू ल्याउनेछौं जुन गर्न आवश्यक छ ।’ अब मार्चमा हुने निर्वाचनपछि के हुन्छ भन्ने कुराले लगानीको विषयमा निश्चितता हुने उनको भनाइ छ। ‘मैले प्रतिनिधित्व गर्ने कम्पनी एनसेल नेपालमा आएको झण्डै २२ वर्ष भयो । अझै लामो समयसम्म जान्छ भन्ने लाग्छ,’ उनले सुनाए।


फोलेले नेपाल प्रविधिको क्षेत्रमा छिमेकी मुलुकहरूभन्दा ५ देखि ८ वर्ष पछाडि रहेको पनि बताए। विश्वव्यापी मापदण्डसँग तुलना गर्दा यो खाडल अझ गहिरो देखिने भन्दै नेपालमा प्रविधि क्षेत्रमा लगानी आवश्यक रहेको आशय उनले व्यक्त गरे। विदेशी लगानी रहेको एनसेल करिब दुई दशकभन्दा लामो समयदेखि नेपालमा सञ्चालनमा छ।