एनसेलका कार्यालयमा गरिएको तोडफोडप्रति दु:ख व्यक्त, सेवाप्रति प्रतिबद्ध

एनसेलका कार्यालयमा गरिएको तोडफोडप्रति दु:ख व्यक्त, सेवाप्रति प्रतिबद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गत हप्ताको आन्दोलनका क्रममा कार्यालयहरूमा भएको तोडफोड र क्षतिप्रति गहिरो दु:ख प्रकट गर्दै मुलुक र जनताको सेवामा निरन्तर खटिरहने अठोट दोहोर्‍याएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा काठमाण्डुस्थित ‘एनसेल आइकम’ मुख्यालयसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुगेको जनाएको छ ।

यी घटनाले भौतिक क्षतिसँगै कर्मचारीहरूको सुरक्षामा र सेवाको निरन्तरतामा पनि ठूलो जोखिम उत्पन्न भएको एनसेलले जनाएको छ । कम्पनीले यस्ता चुनौतीपूर्ण अवस्थामाझ पनि आफ्नो मूल उद्देश्य देशभरका जनतालाई दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता कायम राखेको स्पष्ट पारेको छ । संकटका बेला सहज पहुँचका लागि एनसेलले ३ दिनसम्म नि:शुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।

नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै एनसेलले मुलुकमा युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ । कम्पनीले परिवर्तनले सबै नेपालीका लागि शान्ति, एकता र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ ।

विगत २० वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान दिँदै आएको एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र डिजिटल नेपाल निर्माणमा सहकार्यलाई निरन्तर अघि बढाइरहेको जनाएको छ । एनसेल परिवारले कर्मचारी, ग्राहक र समुदायसँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै अहिलेसम्म प्राप्त साथ र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेको छ ।

विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।