काठमाण्डु– गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाण्डुस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’सँगै महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुगेको कम्पनीले पुष्टि गरेको छ।
कम्पनीका अनुसार यस घटनाले भौतिक सम्पत्तिमा मात्र नभई कर्मचारीको सुरक्षा र सेवा निरन्तरतामा पनि चुनौती उत्पन्न गरेको छ।
तर, यी कठिनाइहरूका बीच पनि एनसेलले देशभरका ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराइरहेको छ। संकटको बेला सेवामा सहज पहुँच सुनिश्चित गर्न कम्पनीले तीन दिनसम्म निःशुल्क स्थानीय भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो।
दुई दशकदेखि नेपाली जनसमुदायलाई सेवा दिँदै आएको एनसेलले ग्राहकप्रतिको अटुट समर्पणलाई दोहोर्याउँदै, नेपाल अन्तरिम सरकारको नेतृत्व ग्रहण गरेकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना प्रकट गरेको छ।
युवाहरूको नेतृत्वमा भएको आन्दोलनबाट आएको परिवर्तनलाई स्वागत गर्दै, कम्पनीले यस परिवर्तनले देशमा शान्ति, एकता र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ।
एनसेलले आफ्ना कर्मचारी, ग्राहक र समुदायसँग काँधमा काँध मिलाएर उभिने प्रतिबद्धता दोहोर्याउँदै, अहिलेसम्म दिएको साथ, समर्थन र ऐक्यबद्धताप्रति हार्दिक आभार प्रकट गरेको छ।
अन्त्यमा, कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गरेको छ।




प्रतिक्रिया