एनसेलद्वारा १० दिनमा २० नयाँ टावर सञ्चालन

एनसेलद्वारा १० दिनमा २० नयाँ टावर सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेलले पछिल्ला १० दिनमा देशका विभिन्न स्थानहरूमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।

ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।

आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेश, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरूका साथ सुधार गरेको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरूलाई तीव्रता दिदै गत १० दिनमा यी २० वटा नयाँ टावरहरू सञ्चालनमा ल्याएको छ ।

नयाँ टावरहरूको सञ्चालनले ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ । एनसेलले मधेश प्रदेशमा १३ नयाँ टावरहरू सञ्चालनमा ल्याएको छ र ती स्थानहरू बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र  गढीमा ४ र मोरङको ववियाविर्ता र मजारेमा २ गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौंडा (मकवानपुर)मा १ टावर जडान गरी सञ्चालनमा ल्याइएको छ ।

‘हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताको अनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं । एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ । आगामी २ दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौं, जसले हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नेछ । यो विस्तार तथा सुधारले फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरका आमग्राहकहरूलाई भरपर्दो मोबाइल सेवामा पहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रष्ट पारेको छ,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।

नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरूका प्रयोग गर्दै यस वर्ष ४० भन्दा बढी नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको थियो ।

फोरजी सेवा विस्तार र सुधार योजना अनुसार एनसेलले अबको २ महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरू जडानका लागि काम गरिरहेको छ । यी टावरहरूको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुदृढ बनाउने एनसेलले जनाएको छ ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनतामाझ सेवा पुगेको छ ।