सवा अर्ब रुपैयाँ ठगी गरेको आरोपमा एनसेललाई दोस्रोपटक स्पष्टिकरण सोधियो

सवा अर्ब रुपैयाँ ठगी गरेको आरोपमा एनसेललाई दोस्रोपटक स्पष्टिकरण सोधियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई नेपाल दूरसञ्चार प्राधिकरणले दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।सेवाग्राहीबाट गैरकानूनी तरिकाले झण्डै सवा अर्ब रुपैयाँ ठगी गरेको आरोपमा एनसेललाई प्राधिकरणले स्पष्टिकरण सोधेको हो ।

एनसेलमाथि ग्राहकबाट विभिन्न प्याक तथा सेवाको स्वतः नवीकरण गरी दुई वर्षको अवधिमा १ अर्ब १४ करोड रुपैयाँ असुल गरेको आरोप छ । प्राधिकरणले के–कसो भएको स्पष्ट पार्न आग्रह गर्दै स्पष्टिकरण पत्र पठाएको हो ।

दुरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार एनसेलले २०७५ जेठ देखि २०७७ वैशाखसम्ममा बिजनेस ह्यान्डलिङ फी, गेमलफ्ट, हुवावे गेम्स कन्टेन्ट जस्ता सेवाको महसुल दर स्वीकृत नगराई प्राधिकरणको निर्देशनविपरीत स्वतः नवीकरण गरी महसुल असुलेको देखिएको छ ।

एनसेलले गेमलफ्टमा मात्रै १२ करोड १ लाख रुपैयाँभन्दा बढी थप महसुल संकलन गरेको प्राधिकरणले जनाएकाे छ । दूरसञ्चार ऐनको दफा ४७ को दफा १ मा नियम उल्लंघन गरे वा प्राधिकरणले दिएको आदेश वा निर्देशन पालना नगरे त्यस्ता व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र त्यस्तो कसुरबाट कसैको हानीनोक्सानी भएको देखिएमा त्यसको बिगोबापत वा सोबापत क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था छ ।

स्पष्टिकरणको विषयमा एनसेलबाट जवाफ आएपछि मात्रै थप कुरा थाहा हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । यसअघि गत भदौ १९ मा पनि प्राधिकरण व्यवस्थापनले एनसेललाई यसबारे स्पष्टीकरण सोधेको थियो । एनसेलले स्वीकृति बिनै प्याक र विभिन्न सेवा स्वतः नवीकरण गर्ने गरेको उजुरीका आधारमा प्राधिकरणले छानविन गरेको थियो ।

प्राधिकरण व्यवस्थापनले एनसेलसंग नवीकरण गरिएका ग्राहकको विवरण मागेको थियो । सेवा स्वतः नवीकरण नगर्न निर्देशन दिँदासमेत एनसेलले अटेरी गरेको पाइएको थियो ।