काठमाण्डु – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रतिवेदन पेश गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टंकमणि शर्मा दंगालले प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेका छन् ।
सरकारले गत मंसिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असर लगायतका विषयमा छानबिन गर्न पूर्व महालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए ।
समितिलाई १ महिनाभित्र प्रतिवेदन पेश गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो ।




प्रतिक्रिया