काठमाण्डु – सबैभन्दा बढी कर तिरेकोमा एनसेल सम्मानित भएको छ ।
गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रममाझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मानपत्र प्रदान गरे ।
सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याएकोले उच्च कदर गर्दै एनसेललाई सम्मानपत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा स्थापित रहँदै आएको छ ।
‘ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गर्नुभएको सम्मानका लागि हामी कृतज्ञ छौं । एक ठूलो करदाताका रूपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजस्वमा ठूलै योगदान गर्छाैं र यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा योगदान गर्न पाउँदा हामी गौरवान्वित छौं र यो कार्यले निरन्तरता पाउने कुरामा म विस्वस्त छु,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको छ । एनसेलले स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा ३०० अर्बभन्दा बढी तिरिरहेको छ ।
गत आवमा मात्रै कम्पनीले २०.३० अर्ब कर तथा शुल्कहरू सरकारलाई दाखिला गरेको छ । कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत २ अर्बभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म पुगेर देशभरका १ करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको छ ।




प्रतिक्रिया