नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ ।

काठमाण्डुमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्न लगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो ।

सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरेको छ भने चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।

१० पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् ।

यस्ता छन् ९ बुँदे प्रस्तावहरू :

१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ ।

२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ ।

४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ ।

५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतका प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दात लगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ ।

८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ ।

९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ ।