जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेश प्रदेश स्तरीय एकता सन्देशसभा जनकपुरधाममा हुने भएको छ ।
मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत मंसिर २० गते जनकपुरधामको तुरहुतिया गाछिमो मधेश प्रदेश स्तरीय एकता सन्देश सभाको आयोजना हुने पार्टीका नेता एवं पूर्व मन्त्री महेन्द्र राय यादवले जानकारी दिए ।
उनले सातै प्रदेशमा एकताको सन्देश पुर्याउने अभियानअन्तर्गत जनकपुरधाममा सभा हुन लागेको बताए । उनले प्रदेशभरबाट ४० हजार जति मानिस सहभागी हुने आकलन गरिएको जानकारी दिए ।
नेता यादवले एकताको सन्देश सभामा देशको परिस्थिति, आगामी चुनाव, देशमा विद्यमान समस्याहरूबारे १६ घटकका नेताहरूले आफ्नो विचार राख्ने बताए । सभामा खासगरी मधेशी जनता र मधेश प्रदेशका समस्याहरूबारे पनि शीर्ष नेताहरूले आफ्नो धारणा राख्ने उनले बताए ।
सभामा विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्ने कार्यक्रम समेत रहेको नेता यादवले जानकारी दिए । उनले जनमत लगायत विभिन्न पार्टीका नेता, कार्यकर्ताहरूसँग कुरा भइसकेको र सभा हुने दिन उनीहरूले पार्टी प्रवेश गर्ने जनाए ।




प्रतिक्रिया