यसरी मिल्यो नेकपाभित्रको बिवाद,विवाद मिलाउन गृहमन्त्री बादलको निर्णायक भुमिका

यसरी मिल्यो नेकपाभित्रको बिवाद,विवाद मिलाउन गृहमन्त्री बादलको निर्णायक भुमिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेकपाभित्र देखिएको विवादको अन्त्य गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन तयार भएका सचिवालयका बहुमत सदस्यहरुको मोर्चा आजको सचिवालय बैठकको निर्णयसंगै टुटेको छ ।

नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुका साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने र स्थायी समितिको बैठक बोलाउने निर्णय गरेसंगै बिवाद अन्त भएको हो ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा मिलेपछि प्रधानमन्त्रीको राजीनामाको च्याप्टर समेत क्लोज भएको छ । प्रधानमन्त्री ओलीले सचिवालय वैठकअघि कार्यकारी अध्यक्ष प्रचण्डसंग ४० मिनेट एक्लाएक्लै भेटवार्ता गरेका थिए । उनले त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेका थिए ।

नेकपाभित्र देखिएको तीव्र मतभेद र अन्तरविरोध हटाउनका लागी उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलले महत्वपूर्ण भुमिका खेलेको बताइएको छ ।गृहमन्त्री समेत रहेका नेता थापाले दुवै अध्यक्ष मिल्नुपर्ने भन्दै समन्वयकारी भुमिका खेलेका थिए । त्यसैगरी महासचिव पौडेलले समेत गौतम र प्रधानमन्त्री ओलीको बीचमा रहेर दुवै नेतालाई मिलाउने काम गरेको बताइएको छ ।

सचिवालय बैठक सुरू हुनु पहिले नै प्रधानमन्त्री ओली र प्रचण्डको कुर्सी संगसंगै राखिएको थियो। त्यसबाट नै दुवै नेताको दुरी घटेको धेरैले अनुमान गरेका थिए । प्रधानमन्त्री ओलीले अरुको कुरा सुन्न छोडेको आरोप लाग्दै आएपनि शनिवारको बैठकमा भने उनले आत्मआलोचना गरेका थिए । उनले बैठकमा मिलेर जानुको विकल्प नभएको बताएका थिए ।

बैठकमा अर्का अध्यक्ष प्रचण्डले पनि पार्टीलाई अब एकताबद्ध बनाएर जानुपर्ने धारणा राखेका थिए । उनले शनिवारको वैठकमा राजीनामाको प्रशंग समेत निकालेनन् । बुधबारको सचिवालय बैठकमा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका प्रचण्डले राजीनामाको मुद्दा छोड्नुको कारण सतहमा नआएपनि फेरी दुवै अध्यक्षबीच अभुतपूर्व एकता भएको बुझ्न कठिन छैन् ।

यसका पछाडी गृहमन्त्री समेत रहेका रामबहादुर थापाको भुमिका महत्वपूर्ण रहेको स्रोतको दावी छ । थापाले अर्का नेता माधव नेपालसंग नभई प्रधानमन्त्री ओलीसंग मिलेर अघि बढ्नुपर्ने सुझाव प्रचण्डलाई दिएका थिए । पछिल्लो समय नेकपाभित्र बादल फयाक्टर निकै उपयोगी भइरहेको बताइएको छ । बादलले पुर्व माओवादीभित्र बलियो पकड बनाएका छन् ।

नेकपामा त्रिपक्षीय शक्ति सन्तुलन छ। प्रधानमन्त्री ओली, प्रचण्ड र माधवकुमार नेपालका तीन समूह पार्टीमा सक्रिय छन्। यी तीनमध्ये दुई जना एकठाउं उभिनेबित्तिकै पार्टीमा बहुमत पुग्छ। दुवै नेताको एकतासंगै अर्का नेता नेपालसंगको दुरी भने बढ्ने संकेत देखिएको छ । उनले शनिवारको बैठकमा फेरी तपाईहरुले षडयन्त्र गर्नुभयो भन्दै नेकपामा माधव नेपालको भुमिका समेत महत्वपूर्ण हुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री ओलीले तेस्रो अध्यक्ष बन्न गरेको आग्रह समेत अस्विकार गरेका छन् । नेता नेपालले आफुलाई धोका भएको महसुस गरेको बताइएको छ ।

पछिल्लो साता भैंसेपाटीमा भेला भएर ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै स्थायी समिति बैठक माग गर्ने निर्णयमा पुगेका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेलमध्ये गौतम र पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि नेकपाभित्रको समिकरण बदलिएको हो ।

गौतम र पौडेलको प्रधानमन्त्रीलाई बलियो साथ र समर्थन भएको र प्रचण्डलाई पनि सचिवालय सदस्य थापाले प्रधानमन्त्रीसंग मिल्न दबाव दिएपछि नेकपामा भएको भैसेपाटी गठवन्धन भत्किएको छ ।प्रचण्ड र नेपालबीच पछिल्ला दिनमा गहिरो विश्वासको वातावरण बनेको थियो । प्रधानमन्त्रीसंग भएको छलफलपछि दुवै नेताले एक अर्कालाई शेयर समेत गर्दै आएका थिए । तर, एकाएक प्रचण्ड र ओली मिलेपछि नेपालले आफुलाई फेरी कर्नरमा पार्न खोजेको अर्थमा बुझेका छन् ।

उनिहरुले राजीनामाको विषयलाई प्रमुख ऐजेण्डा नै बनाएपनि सचिवालय बैठकमा दुवै अध्यक्षबीच एकता देखिएपछि नेपाल झस्एिको उनि निकट नेता बताउंछन् । प्रधानमन्त्री ओलीले ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमार्फत दुवै नेतालाई आफुसंग मिल्न प्रस्ताव पठाएपनि नेपालले त्यसलाई ठाडै अस्विकार गरेका थिए ।

पोखरेलले दुई पार्टी एकीकरण गर्न ओली र प्रचण्डले मुख्य भूमिका खेलेको भन्दै दुई जना एकठाउं आउनुपर्ने तर्क गरेका थिए। पोखरेलकै लाईनमा नेता बादलले पनि दुवै अध्यक्षलाई मिल्न दबाव दिएका थिए । दुवै नेताबीच छलफल भएपछि राजीनामाको मुद्दा क्लोज भएपछि प्रचण्डसंग नेपाल खेमाले धोका महसुस गरेको बताईएपनि दुवैतर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएका छैन् ।