काठमाण्डु– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयां प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत सहमति जनाएका छन्
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपछि त्यसमा अर्का अध्यक्ष्ँ प्रचण्डले सहमति जनाएका थिए । महाधिवेशन मंसिरमा हुनेमा भने सचिवालयका सदस्यहरु माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमले आशंका व्यक्त गरेका छन् ।
खनाल र नेपालले त वैठकमा मंसिरमा महाधिवेशन गर्ने कुरा व्यवहारिक नभएको धारणा समेत राखेका थिए । तर,अध्यक्षद्धय प्रचण्ड र ओलीसहित महासचिव विष्णु पौडेल,सचिवालय सदस्यहरु रामबहादुर थापा र ईश्वर पोखरेलले भने उक्त प्रस्तावको खुलेर समर्थन गरे ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदमा भने आफु पांच वर्ष नै बसिरहने स्पष्ट पारेका छन् । उनले आफुले गरेको गल्तिको आत्माआलोचना गर्दै महाधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्न चाहेको बैठकमा बताएका थिए ।
सचिवालय वैठकअघि दुई अध्यक्षबीच एक्ला एक्लै वार्ता भएको थियो । सचिवालय वैठकमा प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रचण्डले सहमति जनाएपछि नेताहरुले कुरो मिलेको बुझे । उनले स्थायि समितिको वैठकमा सहमतिको खाका ल्याउने बताए । दुवै अध्यक्षको भनाईपछि वरिष्ठ नेता नेपालले भने प्याकेजमै सहमती हुनुपर्ने धारणा राखेका थिए ।
उनले दुवै अध्यक्ष मात्र मिलेर नहुने भन्दै त्यसो नभए देशव्यापी अभियानमा जाने चेतावनी वैठकमा दिए । नेता नेपालले आफु पार्टीमा एकता र सहमतिको पक्षमा रहेपनि खेलेर किनारा लगाएर राम्रो नहुने भन्दै दुवै अध्यक्षलाई खवरदारी गरे । आजको वैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको प्रशंग भने उठेन् । वरिष्ठ नेताहरु खनाल र नेपालले दुवै अध्यक्षको सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
आजको वैठकमा प्रचण्डको भुमिकाप्रति नेपाल र खनालले आशंका व्यक्त गरेपनि दुवै नेतालाई भुमिका दिने गरी प्रस्ताव तयार गर्ने तयारी अध्यक्षद्धयले गरेका छन् । त्यसमा कार्यकारी अध्यक्ष प्रचण्डको भुमिका पनि स्पष्ट पार्ने तयारी छ ।
यसअघि सचिवालयका अधिकांश नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैवाट राजीनामा दिनुपर्ने माग राख्दै आएका थिए । तर, प्रधानमन्त्रीको नयां प्रस्तावमा भने उनको पक्षमा सचिवालयमा बहुमत जुटेको छ । वैठकमा खनाल,नेपाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठले लिखित प्रस्ताव ल्याउनुपर्ने माग गरेका छन् । तर खुलेर राजीनामा भने उनिहरुले मागेनन् ।
सचिवालयको वैठकलगत्तै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । वैठकमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई समेत बोलाइएको थियो ।
प्रधानमन्त्री ओलीको प्रस्तावबारे सचिवालय वैठकमा छलफल भएपनि निर्णय भने भएन् । भोली बस्ने स्थायी समितिको वैठकमा यसबारेमा थप छलफल हुनेछ । नेताहरुले प्रधानमन्त्री ओलीलाई लिखित प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
भोली वस्ने वैठकमा दुवै अध्यक्षले सहमतिको लागी प्रस्ताव ल्याउने तयारी गरेका छन् । जसमा वरिष्ठ नेता माधव नेपालको सरकार संचालन गर्दा राय सुझाव लिने,उनि निकट नेताहरुलाई मन्त्रीमण्डलमा सामेल गराउने, मुख्यमन्त्री परिवर्तन गर्ने,पार्टीभित्र रहेको दोहोरो जिम्मेवारी हटाउने र प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकार समुह परिवर्तन गर्नेलगायतका विषय समेट्ने तयारी छ ।
आजको सचिवालय वैठकमा प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डवीच सहमति भएपछि वरिष्ठ नेता नेपालले आफुलाई किनारा लगाउन खोजेको अर्थमा लिएका छन् । तर दुवै नेताको सहमतिपछी नेकपाको विभाजनको खतरा भने तत्काललाई टरेको छ । प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडानको भने जित भएको छ । उनले प्रचण्डसहितका नेताहरुको मोर्चाबन्दीलाई समेत तोड्न सफल भएका छन् ।
मंसिरमा महाधिवेशन गर्ने उनको प्रस्तावमा नेताहरुले आशंका गरेका मात्र छैनन् फेरी प्रचण्डलाई धोका हुने सुझाव समेत निकट नेताहरुले दिएका छन् । तर, भोली बस्ने स्थायी समितिको वैठकमा के प्रस्ताव आउंछ त्यो पछि मात्र नेकपाको आगामी यात्राबारे केही भन्न सकिन्छ ।




प्रतिक्रिया