काठमाण्डु- तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदै पार्टी एकीकरणसम्म आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा हुँदा नेता, कार्यकर्तादेखि जनतासम्म उत्साह र आशा थियो । तर पटक–पटकको विवादले नेकपाभित्रको आशा अहिले निराशाउन्मुख छ ।
पछिल्लो पटक महासचिव विष्णु पौडेल नेतृत्वको नेकपा विवाद समाधान सुझाव कार्यदलको प्रतिवेदनले विवाद समाधान हुने संकेत गरेको थियो । तर पार्टीसँग परामर्श नगरी र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमति विना प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत सिफारिस प्रस्ताव र मन्त्रिपरिषद् पुनर्गठन गरेपछि नेकपा जटिल मोडमा पुगेको छ ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीको गम्भीर आलोचना गर्दै छुट्टै प्रस्ताव पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ । मंसिर ३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव लेख्न १० दिनको समय माग्दै १३ गते पुनः सचिवालय बैठक बस्ने निर्णय भएको छ । प्रचण्डले पेश गरेको प्रस्तावमा ओली सरकार असफल भएको, भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै राजीनामा दिनुपर्ने घुमाउरो माग समेत गरिएको छ ।
नेकपामा विवाद झन्झन् बढ्ने संकेत देखिएका बेला नेकपाको विवादमा कांग्रेस समेत प्रवेश गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रमेश लेखकले प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि सत्ता साझेदारीका विषयमा समेत छलफल भएको समाचार सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले आफू पार्टीभित्र अप्ठ्यारोमा परेकाले कांग्रेसले सहयोग गरेमा सरकारलाई सहयोग पुग्ने आशा व्यक्त गरेको जनाइएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कांग्रेस वर्तमान प्रतिनिधि सभाको ५ वर्षे कार्यकालमा प्रतिपक्षमै बस्ने दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ भ्रमः कोही कसैलाई केही छ भने ! ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं । जय नेपाल !’
औपचारिक रूपमा प्रवक्ताले जेसुकै भने पनि नेकपाको विवादमा कांग्रेसले प्रवेश गरेको कांग्रेसकै नेताहरू बताउँछन् । तर कांग्रेस मुख्यरूपमा सत्ता स्वार्थमा भने नभएको नेताहरूको दाबी छ । ‘नेकपाभित्र विवाद उत्कर्षमा रहेका बेला कांग्रेस नेताहरूसँग ओली र प्रचण्ड दुवै पक्षले छलफल गरिरहेका छन्,’ कांग्रेस निकट स्रोतले भन्यो, ‘आगामी निर्वाचनमा नेकपा एकै भएर चुनाव नलडोस् भन्ने कांग्रेस चाहन्छ । गत निर्वाचनमा पनि एमाले र माओवादीबीच गठबन्धन भएकै कारण कांग्रेस हारेको हो, नत्र जित्ने नै थियो । तसर्थ आगामी निर्वाचनसम्म नेकपा एकै नरहोस् भन्ने रणनीति अनुसार कांग्रेसले आवश्यक भूमिका खेल्छ ।’
नेकपाभित्र विवाद रहेका बेला प्रधानमन्त्री ओलीले आफू सरकारमा टिकिराख्न कांग्रेससँग सहयोग मागेका छन् भने प्रचण्डले अर्काे सरकार बनाउन कांग्रेससँग सहयोग मागेका छन् । प्रचण्ड निवास खुमलटारमा कांग्रेस नेताहरूको ओहोरदोहोर बाक्लिएको स्रोतले जनाएको छ । बालुवाटारमा सभापति शेरबहादुर देउवा र नेताहरू रमेश लेखक र मिनेन्द्र रिजालले छलफल गरिरहेका छन् भने खुमलटारमा नेताहरू कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, रमेश लेखक, अमरेशकुमार सिंह लगायतले छलफल गरिरहेका छन् । नेकपा फुटेको अवस्थामा सरकारमाथिको वर्चश्व सुरक्षित राख्न ओली प्रचण्ड दुवैले प्रयास गरिरहेका छन् ।
नेकपा फुटेको अवस्थामा प्रचण्ड पक्षका लागि एउटा सुखद पक्ष छ, प्रतिपक्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) बाट सहयोग पाउने आशा । जसपा नेतृत्व ओलीविरुद्ध रहँदै आएको छ भने प्रचण्डसँग एजेन्डा लगायत समानता रहेका छन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समेत ओलीका कटु आलोचक देखिन्छन् भने प्रचण्डसँग तुलनात्मक रूपमा नजिक देखिन्छन् ।
प्रतिनिधिसभा २७५ सदस्यीय भएपनि हाल २७१ सदस्य रहेका संघीय संसद सचिवालयको वेबसाइटले जनाएको छ । जसमध्ये नेकपाका १७२, नेपाली कांग्रेसका ६३, जसपाका २८ सांसद लगायत रहेका छन् । संसदमा बहुमतका लागि १३८ सांसदको समर्थन हुनुपर्छ । नेकपामा ओली पक्षमा ७०–७५ सांसद रहेको अनुमान गरिएकाले कांग्रेसको समर्थन विना कुनै पनि पक्षले सरकार बनाउन सक्ने हिसाब देखिँदैन । प्रचण्ड पक्षले जसपासँग मिलेर मात्रै पनि सरकार बनाउन सक्ने गरी बहुमत पुग्ने देखिँदैन । तसर्थ नेकपा फुटेको अवस्थामा कांग्रेस ‘किङ मेकर’को भूमिकामा रहनेछ । ओली र प्रचण्ड दुवै पक्षले पार्टी फुटेको अवस्थाका लागि समेत अभ्यास शुरू गरिसकेका छन् ।




प्रतिक्रिया