काठमाडौं– नेकपाको सचिवालयमा वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएसंगै नेकपाको विवाद तत्काललाई मत्थर भएको छ । सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले स्थायी समिति वैठक सार्ने प्रस्ताव गर्दा वरिष्ठ नेता माधव नेपालले अहिले सचिवालयमा भएको सहमतिलाई स्थायी समितिमा छलफल गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा अर्का अध्यक्ष प्रचण्डले सहमति जनाएपछि वैठक आईतवारका लागी बोलाइएको हो ।
आज बस्ने स्थायि समितिको वैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले सचिवालय वैठकमा भएको छलफलबारे जानकारी गराउने कार्यक्रम छ । नेकपाभित्र विवाद बढेपछि पार्टी फुट्न सक्नेसम्मको आशंका गरिएको थियो । तर, दुवै अध्यक्षको निरन्तर छलफलपछि नेताहरु पार्टीलाई एकतावद्ध गर्ने र चांडो महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निचोडमा पुगेका हुन् ।
दुवै नेताहरुले सचिवालयमा भएको छलफल र सहमतिको नयां खाका स्थायी समिति वैठकमा प्रस्तुत गर्ने तयारी गरेको नेकपा स्रोत बताउंछ । त्यसका लागी अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माले आईतवार विहान छलफल गरेका थिए । त्यसलगत्तै सचिवालयका सदस्यहरु र निकट नेताहरुको बैठक बसेको थियो ।
‘उहांहरुले सहमतिको खाका तयार गरिसक्नुभएको छ, आज बस्ने स्थायि समितिको वैठकमा दुई नेताहरुले ब्रिफिङ गर्ने र चांडै सहमति बाहिर ल्याउने काम गर्नुहुन्छ ।’ नेकपाका एक सचिवालय सदस्यले काठमाण्डुपाटीलाई भने ।
अध्यक्षद्धय प्रचण्ड र प्रधानमन्त्री ओलीको बीचमा भएको सहमतीअनुसार प्रचण्डको भुमिकालाई मंसिर ४ मा भएको सहमतिभन्दा एक कदम अघि बढेर ठोस गरेर अघि बढ्ने, महाधिवेशन तयारीको सम्पुर्ण जिम्मा समेत प्रचण्डलाई दिने, वरिष्ठ नेता नेपालको भुमिका बढाउने, मन्त्रीमण्डलमा नेपाल समुहका नेताहरुलाई सहभागी गराउने, तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई बनाउने, पार्टीभित्र रहेको दोहोरो जिम्मेवारी हटाउने र प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकार समुह परिवर्तन गर्नेलगायतको सहमति भएको छ ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपछि त्यसमा अर्का अध्यक्ष्ँ प्रचण्डले सहमति जनाएका थिए । त्यससअघि दुवै नेतावीच लेनदेन मिलेको थियो ।
महाधिवेशन मंसिरमा हुनेमा भने सचिवालयका सदस्यहरु माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमले आशंका व्यक्त गरेका थिए । खनाल र नेपालले त वैठकमा मंसिरमा महाधिवेशन गर्ने कुरा व्यवहारिक नभएको धारणा समेत राखेका थिए । तर,अध्यक्षद्धय प्रचण्ड र ओलीसहित महासचिव विष्णु पौडेल,सचिवालय सदस्यहरु रामबहादुर थापा र ईश्वर पोखरेलले भने उक्त प्रस्तावको खुलेर समर्थन गरे ।
दुवै अध्यक्षको भनाईपछि वरिष्ठ नेता नेपालले भने प्याकेजमै सहमती हुनुपर्ने धारणा राखेका थिए । उनले दुवै अध्यक्ष मात्र मिलेर नहुने भन्दै त्यसो नभए देशव्यापी अभियानमा जाने चेतावनी वैठकमा दिए । नेता नेपालले आफु पार्टीमा एकता र सहमतिको पक्षमा रहेपनि खेलेर किनारा लगाएर राम्रो नहुने भन्दै दुवै अध्यक्षलाई खवरदारी गरे । सचिवालय वैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको प्रशंग भने उठेन् । वरिष्ठ नेताहरु खनाल र नेपालले दुवै अध्यक्षको सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।
उनिहरुले प्रचण्डको भुमिकाप्रति आशंका व्यक्त गरेपनि दुवै नेतालाई भुमिका दिने गरी प्रस्ताव तयार गर्ने तयारी अध्यक्षद्धयले गरेका छन् । तर, नेपालले अर्का अध्यक्ष प्रचण्डप्रति चित्त दुखाएको उनि निकट नेताले काठमाण्डुपाटीलाई बताए ।
‘नेता नेपालले विश्वास गरेर खाली चेक प्रचण्डलाई हस्तान्तरण गरेर दिनुभएको थियो, तर त्यसलाई दुरुपयोग गरेको रुपमा उहांले बुझ्नुभएको छ ।’ नेपाल निकट एक नेताले भने । प्रधानमन्त्री ओलीले प्रचण्डसंग सहमति गर्नुअघि पुर्व एमाले मिल्ने, वामदेवलाई पार्टी अध्यक्ष बनाउने, नेता नेपाललाई अध्यक्ष बनाउनेलगायतका प्रस्ताव पठाएपनि उनिहरुले प्रधानमन्त्रीले दुई पदमध्ये एकबाट राजीनामा दिनुपर्ने अडान राखेका थिए ।
सचिवालय वैठकलगत्तै नेता नेपालले असन्तुष्टि जनाएको समाचार बाहिर सार्वजनिक भएको थियो । त्यसपछि वैठकमा कुनै सहमति नभएको भन्दै तरगिंत नहुन प्रचण्डको सचिवालयबाट विज्ञप्ती आएपनि त्यसमा विश्वास गर्ने ठाउं थिएन् । किनभने सचिवालयको वैठकमा प्रधानमन्त्रीको प्रस्तावमा प्रचण्ड सहमत भएको नेता नेपालसहितका नेताहरुले अनुमान गरिसकेका थिए । सचिवालय वैठकमा प्रचण्डको प्रस्तुतीले समेत दुई नेता मिलेको अनुमान गर्न गाह्रो थिएन् । यद्यपी प्रचण्डले नेता नेपाल र सचिवालयका सदस्यहरु खनाल र वामदेव गौतमलाई समेत मिलाएर अघि बढ्ने प्रस्ताव गरेका छन् ।
तर, नेकपाको आगामी महाधिवेशनमा समेत नेपाल र प्रचण्डबीच नै प्रतिस्पर्धा हुने भएकाले पनि दुवैबीचमा दुरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री ओलीले पांच वर्ष नै आफुले प्रधानमन्त्री चलाउने र पार्टीको नेतृत्वका लागी आफु आकांक्षी नहुने घोषणा गरेसंगै नेकपाको अध्यक्ष कसलाई बनाउने भन्नेमा फेरी पनि ओली नै निर्णायक हुनेछन् ।
‘हिजोसम्म उहांहरुलाई प्रधानमन्त्री ओलीले फकाउनुपर्ने,मिलाउनुपर्ने अवस्था थियो, अव महाधिवेशनमा अध्यक्ष बन्नको लागी नेपाल र प्रचण्डका बालुवाटार पुगेर चक्कर लगाउने दिन सुरु भए ।’ नेकपाका एक नेताले भने ।
नेपाल समुहले पुर्व माओवादीबाट प्रचण्डले सोचेजस्तो समर्थन प्राप्त नगरेकाले प्रधानमन्त्री ओलीसंग सम्झौता गरेको अर्थमा बुझेका छन् । पुर्व माओवादीका नेताहरु लेखराज भट्ट खुलेर प्रधानमन्त्री ओलीको पक्षमा लागेका छन् भने नेताहरु टोपबहादुर रायमाझी,देवेन्द्र पौडेल,मणी थापा र हरिवोल गजुरेललगायतले पनि अध्यक्ष प्रचण्डलाई खुलेर साथ दिएका छैनन् । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र उर्जामन्त्री वर्षमान पुन दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्ने भन्दै लविङ्गमा थिए ।
उर्जामन्त्री पुन पांच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसंग दुवै अध्यक्ष मिलेर जानुपर्ने भन्दै छलफलमा सक्रिय थिए । उता वनमन्त्री समेत रहेका नेता शक्ति वस्नेतले पनि प्रधानमन्त्री ओलीको विकल्प मात्र खोजेर समस्याको समाधन नहुने भन्दै त्यसपछि पार्टीलाई कसरी अघि बढाउने भन्ने विधीको विकास गर्नुपर्ने धारणा राख्दै आएका थिए ।
यता अर्का नेता जनार्दन शर्मा भने सुरुमा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा भएपनि अन्तिममा दुवै अध्यक्ष्ँ मिलाउन भुमिका खेलेका थिए । सहमतिको खाका बनाउन पनि शर्मा र महासचिव पौडेलले गृहकार्य गरिरहेका छन् । पुर्व माओवादीका नेताहरु शर्मा र पुनको वीचमा समेत एकता नदेखिएको बताईन्छ । शर्मा र पुनलाई वार्तामा सहभागी गराएको भन्दै गृहमन्त्री थापासहित नेताहरु देव गुरुङ्ग,पम्फा भुसाल र टोपबहादुर रायामाझी अध्यक्ष प्रचण्डसंग असन्तुष्ट बनेका थिए ।
यसअघि सचिवालयका अधिकांश नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैवाट राजीनामा दिनुपर्ने माग राख्दै आएका थिए । तर, प्रधानमन्त्रीको नयां प्रस्तावमा भने उनको पक्षमा सचिवालयमा बहुमत जुटेको छ । वैठकमा खनाल,नेपाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठले लिखित प्रस्ताव ल्याउनुपर्ने माग गरेका छन् । तर खुलेर राजीनामा भने उनिहरुले मागेनन् ।
सचिवालयको वैठकलगत्तै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । वैठकमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई समेत बोलाइएको थियो । आगामी महाधिवेशनमा जवजलाई उठाएर अघि बढ्नेबारे पनि त्यहां छलफल भएको बताइन्छ ।
प्रधानमन्त्री ओलीको प्रस्तावबारे आजको सचिवालय वैठकमा थप छलफल हुनेछ । प्रधानमन्त्री ओलीले सवैलाई मिलाएर लग्ने सन्देश प्रवाह गर्न खोजेको नेकपा स्रोतको दावी छ । त्यसका लागी उनले मन्त्रिमण्डल हेरफेर गरेर सवै पक्षलाई समेट्ने संकेत गरेका छन् ।
नेकपाका एक स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद आफ्नो पहलमा मिलाएको सन्देश दिन सक्ने बताए । ‘उहांले मन्त्रिमण्डलको पुर्नगठन गरेर तत्काल त्यो सन्देश दिन खोज्नुभएको छ, पार्टीमा पनि उहांले सवै पक्षलाई मिलाएर एकतालाई थप मजबूत बनाएको सन्देश दिने तयारी छ ।’ ती नेताले भने ।
यो पनि पढ्नुहोस्-




प्रतिक्रिया