संसदिय दलमा बहुमत जुटाउन नेकपाभित्र दुवै पक्ष सांसदहरुको हस्ताक्षर जुटाउने तयारीमा

संसदिय दलमा बहुमत जुटाउन नेकपाभित्र दुवै पक्ष सांसदहरुको हस्ताक्षर जुटाउने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पांच जना सदस्यहरुले पार्टीको वैठक बोलाउन गरेको आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरेपछि नेकपाभित्रको परिस्थती गम्भिर मोडमा पुगेको हो ।

नेकपाभित्र विवाद बढ्दै गएपछि दुवै पक्ष संसदिय दलमा बहुमत पुर्याउने तयारीमा जुटेका छन् ।नेकपास्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड दुवै जना संसदिय दलमा बहुमत देखाउनको लागी अहिले हस्ताक्षर अभियानमा जुटेका छन् ।

‘पार्टीको बैठक बोलाउन प्रधानमन्त्रीले अस्विकार गरेपछि अव संसदिय दलबाटै समाधान खोज्नुपर्छ भन्नेमा नेताहरु जुटनुभएको छ । त्यसका लागी हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ ।’ प्रचण्डपक्षिय एक नेताले काठमाण्डुसंग भने ।

प्रतिनिधीसभामा नेकपाको कुल सांसद १ सय ७४ जना रहेका छन् । त्यसमा दुवै पक्षले आ–आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आएका छन् । तर, दुवै पक्षले उक्त दावी गरेपनि बहुमत पुग्नेमा दुवै पक्ष ढुक्क नरहेको स्रोतको दावी छ ।

नेकपामा सचिवालय र स्थायी समितिमा प्रधानमन्त्री ओली स्पष्ट रुपमा अल्पमतमा परेपनि दलमा भने उनको उपस्थिती बलियो देखिएको छ । पार्टीका नेताहरुले बैठक बोलाउन गरेको आग्रह उनले अस्विकार गरेसंगै दुवै पक्ष संसदीय दलको जोड घटाउसम्म पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको पक्षमा हाल ७८ जना सांसद छन् । त्यसैगरी कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा ५३ जना र सचिवालयका सदस्य माधव कुमार नेपालको पक्षमा ४३ जना सांसद रहेको नेकपा स्रोत बताउंछ ।

नेकपाको संसदीय दलमा बहुमतका लागी ८८ जना सांसद आवश्यक पर्ने हुन्छ । प्रधानमन्त्री ओलीलाई बहुमत जुटाउन १० जना सांसदको कमी छ । त्यसमा पुर्व माओवादी पक्ष र नेपाल पक्षका केही नेता नखुलेपछि बहुमत पुग्नेमा प्रधानमन्त्री ओली ढुक्क छन् ।

सचिवालय सदस्य रामबहादुर थापा बादल,स्थायी समिति सदस्यहरु लेखराज भट्ट, टोपबहादुर रायामाझी, हरिबोल गजुरेल र प्रभु शाहलगायतका नेताहरुको समर्थन आफुलाई हुने प्रधानमन्त्री ओलीको विश्वास छ ।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधव नेपाल,झलनाथ खनाल आ–आफ्नो पक्षमा समर्थन जुटाउन सांसदहरुसंगको छलफलमा जुटेका हुन् । पार्टीका अध्यक्षसहित वरिष्ठ नेताहरु नै संसदमा बहुमत जुटाउन अग्रसर भएपछि नेकपा विभाजन हुन सक्ने आशंका गरिएको छ ।

‘दुवै पक्ष संसदमा बहुमत जुटाउने पक्षमा हुनुहुन्छ । तर, केही सांसदहरुको पक्षधरता अझै स्पष्ट नभएपछि कसको पक्ष्ँमा बहुमत छ भन्ने स्पष्ट हुन सकेको छैन् ।’ नेकपाका एक स्थायी समिति सदस्यले भने ।