एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउँदै

एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउँदै


काठमाण्डु – नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारको टुंगो लगाउँदैछ ।

एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठकबाट उम्मेदवारको टुंगो दगाउँदैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी गरेको हो।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। जस अनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकाले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ। दुर्गमा भेगमा रहेका उम्मेदवारहरूलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले सचिवालय बैठक बसेर उम्मेदवारी टुंग्याउन लागेको हो।

यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो।