काठमाण्डु – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुनेछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन् । बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।
शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । बुधबार बोल्ने केन्द्रीय सदस्यहरूले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्त्वपूर्ण सुझाव दिएका छन् ।
केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची राखिएको छ ।
जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया