एकीकृत समाजवादीको ४ वर्ष : नेतृत्वमा क्षयीकरण, जनसमर्थन खस्किँदै

एकीकृत समाजवादीको ४ वर्ष : नेतृत्वमा क्षयीकरण, जनसमर्थन खस्किँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले सोमबार पार्टीको चौथो स्थापना दिवस मनाइरहेको छ ।

स्थापना दिवसका अवसरमा पार्टीले मातहतका सबै जिल्ला कमिटी, प्रदेश, स्थानीय तहका संगठन र जनवर्गीय संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष माधवकुमार नेपालले इतिहासले दिएको जिम्मेवारी पूरा गर्दै आजका चुनौतीको सामना गर्न र सुन्दर भविष्यको निर्माणको निम्ति दृढताका साथ अघि बढ्ने बताएका छन् ।

दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिता, कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोहमार्फत पार्टी गठन भएको सन्देशमार्फत अध्यक्ष नेपालले प्रस्टीकरण दिएका छन् ।

स्थापनाको ४ वर्षसम्म पनि पार्टी गठनको आवश्यकता र औचित्य पुष्टि हुन सकेको छैन । तत्कालीन नेकपा एमालेसँग वैचारिक मतभेद भएपछि कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने उद्देश्यले २०७८ भदौ ९ गते नेकपा एकीकृत समाजवादी स्थापना भएको हो ।

पार्टी पुनर्गठन दिवसमा सोमबार आयोजित कार्यक्रममा सहभागीहरू

पार्टीले चौथो वार्षिकोत्सव मनाइरहँदा पार्टीभित्रको असमझदारी, नेतृत्वबारे उठेका प्रश्न र राष्ट्रिय राजनीतिमा यसको प्रासंगिकतामाथि शंका उठेको छ ।

पार्टी नेतृत्वले आफूलाई कम्युनिस्ट आन्दोलनमा एकता र सुधारको शक्ति भनेर प्रस्तुत गर्न खोजे पनि अध्यक्ष नेपाल विरुद्धको भ्रष्टाचार मुद्दा, शीर्ष नेताहरू बीचको विवाद, अन्तर्संघर्ष र नेतृत्वमा पुरानै अनुहारलाई प्राथमिकता दिइनुले पार्टीको छवि ४ वर्षमै धमिलिएको छ ।

स्थापनाका ४ वर्षमा पार्टीले २०७९ सालको निर्वाचन लड्यो, गत वर्ष महाधिवेशन समेत सम्पन्न गर्‍यो तर अझै राष्ट्रिय राजनीतिमा प्रासंगिकता प्रमाणित गर्न संघर्षरत छ ।

विश्लेषकहरूले नयाँ चुनौतीबीच पार्टीलाई अघि बढाउने बलियो नेतृत्वको अभाव रहेको बताएका छन् । उनीहरू २०७९ सालको आमनिर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउन नसक्नुदेखि नै पार्टीको पतन सुरु भएको टिप्पणी गर्छन् ।

निर्वाचन कानून अनुसार कुनै पनि दलले समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउनुका साथै प्रत्यक्षतर्फ पनि जित्नैपर्छ । तर पार्टीले निर्वाचनमा २.८२ प्रतिशत मात्र मत ल्याए र राष्ट्रिय दल बन्न सकेन ।

एमाले छाडेर आएका कार्यकर्तालाई प्रेरित गर्ने ठोस पहल नगरी उल्टै आन्तरिक लडाइँमै डुबेको पार्टीमा अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच तिखो वादविवाद सतहमा आइसकेको छ ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा विश्लेषक कृष्ण पोखरेलले भनेका छन्, ‘नेतृत्वशैली असफल भएको छ र एमाले फुटाउनु औचित्यहीन भएको छ । भ्रष्टाचार मुद्दामा विशेष अदालतमा नेपालविरुद्ध मुद्दा चलिरहँदा नैतिक दृष्टिले अध्यक्ष पद छाड्नुपर्नेमा अहिले पनि पदमै बसिरहेका छन् ।’

भ्रष्टाचार मुद्दामा नाम मुछिएपछि नेपाल सांसदबाट निलम्बित भएका छन् तर पार्टी अध्यक्षमा यथावतै छन् । पार्टीभित्र नेपालले अध्यक्ष पद छाड्नुपर्ने उनीमाथि दबाब पनि छ ।

पार्टीले पुराना नेता वामदेव गौतमलाई साउन २ गते स्वागत गर्‍यो । उनलाई तेस्रो नम्बरमा राखिए पनि कुनै पनि जिम्मेवारी दिइएको छैन । गौतमको प्रवेशले पार्टीभित्रै उनको भूमिकाबारे विवाद पनि देखिएको छ ।

गौतमले आफूलाई पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । उनी भन्छन्, ‘मैले काम माग्या–माग्यै छु । अहिलेसम्म कुनै जिम्मेवारी भएको छैन ।’

‘पार्टीका सबै शीर्ष नेता राजधानी केन्द्रित रहने प्रवृत्तिका कारण पार्टी बलियो बन्न सकेको छैन,’ गौतम भन्छन् ।

एक नेताका अनुसार पार्टी स्थिर नभएका कारण माथिल्लो तहका नेताहरू दोस्रो तहका नेताले स्थानीय तहमा अभियान चलाउँदा आफू कमजोर हुने डर मानेका छन् ।

पार्टीले गत चैत ३० देखि ‘सुशासन र रोजगारी: समाजवादको तयारी’ भन्ने नारा दिएर आन्दोलन गरेको थियो । त्यसअन्तर्गत वैशाख १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, परराष्ट्र नीति र संविधान समीक्षा जस्ता विषया ध्यानकर्षण गराएको थियो ।

नीतिगत भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुपर्ने र १९९० दशकयताका सबै प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग समेत पार्टीको छ । तर जब अख्तियारले अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर गर्‍यो, पार्टीले त्यसलाई राजनीतिक प्रतिशोध भन्दै उठाएको मुद्दाहरू ओझेलमा परेको छ ।

प्रचार विभाग प्रमुख प्रकाश ज्वाला भन्छन्, ‘हामीलाई थाहा छ, अध्यक्ष विरुद्धको मुद्दा राजनीतिक प्रेरित हो । त्यसैले उहाँलाई पदबाट हटाउने हाम्रो कुनै कारण छैन ।’

उनले पार्टी स्थिर नभएको आरोप स्वीकार गर्दै भने, ‘नयाँ पार्टी भएकाले अवरोधका बाबजुद पनि हामीले धेरै कार्यक्रम अघि बढाएका छौं र अघि बढाउनेछौं ।’’