नेकपामा झगडा : मुखमा एकता, बगलीमा फुट !

नेकपामा झगडा : मुखमा एकता, बगलीमा फुट !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपाली कम्युनिस्ट आन्दोलनमा ‘फुट’लाई मुख्य समस्याको रूपमा लिने गरिन्छ । नेपालमा कम्युनिस्ट पार्टीको संख्या बढ्दै गए पनि विभाजन धेरै हुँदा ठूलो शक्ति निर्माण हुन सकेको थिएन ।

तर २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताले वाम गठबन्धनलाई ठूलो र प्रमुख शक्तिको रूपमा अगाडि ल्यायो । संसदमा झण्डै दुईतिहाइ बहुमतका साथ दुवै पार्टीले एकीकरण गर्ने घोषणा त्यसअघि नै गरेका थिए ।

२०७५ जेठ ३ गते दुवै पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरियो । पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहने व्यवस्था गरियो । तर दुवै अध्यक्ष लगायत अन्य नेताहरूबीच बेमेल हुँदा नेकपा गम्भीर विवादको भूमरीमा फसेको छ । पुनः फुटको संघारमा पुग्दैछ ।

पटक–पटक पार्टीमा देखिँदै आएका झमेला र विवादलाई निर्मूल पार्न महासचिव विष्णु पौडेलको नेतृत्वमा नेकपा विवाद समाधान सुझाव कार्यदल गठन गरिएको थियो । जसले दिएको सुझाव अनुसार गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले केही निर्णय लिएको थियो, जसमा अध्यक्षद्वय ओली र प्रचण्डको आपसी परामर्श र सहमतिमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने उल्लेख थियो ।

असोज २८ गते प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको सहमति विनै एकलौटी रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरे । विवाद समाधानका लागि भएको सहमति र स्थायी कमिटी बैठकको निर्णय पालना नभएको भन्दै प्रचण्ड पक्ष त्यसयता असन्तुष्ट छ, असन्तुष्टि बढ्दै गएर विवाद फुटको चर्चासम्म पुगेको छ ।

विवाद समाधान कार्यदलको सुझावमा उल्लेख थियो, ‘सचिवालय सदस्य कमरेडहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानूनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद्, प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने । मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने ।’

विवाद समाधानका लागि भएका सहमति र निर्णय कार्यान्वयनमा ओली इमान्दार नभएको निष्कर्षमा पुग्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुलेरै ओलीविरुद्ध लागेका छन् । खुमलटार, कोटेश्वर र धुम्बाराहीमा छुट्टाछुट्टै भेला र छलफल भइरहेका छन्, ओलीमाथि दबाब बढाउने प्रयास भइरहेको छ । तर विवाद समाधान र सहमतिको कुनै संकेत देखिएको छैन ।

मुखमा एकता, बगलीमा फुट !

राजनीतिक स्थिरताका लागि मतदाताको इच्छा र नेकपाका देशभरका कार्यकर्ताको चाहना बमोजिम पार्टी एकता भएको २ वर्ष पूरा भइसक्दा समेत अझै एकीकरण सम्पन्न भइसकेको छैन । पार्टीका सदस्य संख्या यकिन भएर एकीकृत भएका छैनन् । यस्तो संक्रमणकालीन अवस्थामा विवादले उग्ररूप लिएको छ ।

आगामी चैत २५–३० गतेका लागि पार्टी महाधिवेशन तोकिएको छ । महाधिवेशनको तयारीका लागि काम गर्न कात्तिक १५–१७ गतेसम्म केन्द्रीय कमिटी बैठक हुनुपर्ने थियो । तर विवादकै कारण बैठकलाई कोरोना संक्रमणको महामारीको बहानामा १ महिना पर सारिएको छ । तयारीका लागि बस्नुपर्ने केन्द्रीय कमिटी बैठक नै सारिएकाले महाधिवेशन समयमै हुनसक्ला त ? पार्टीभित्र गम्भीर प्रश्न खडा भएको छ । महाधिवेशनको तयारी हुनुपर्ने बेलामा नेताहरू फुट र गुटको तयारीमा व्यस्त छन् ।

जतिसुकै विवाद भएपनि नेताहरूबीच एउटा समानता छ – कसैले पनि पार्टी फुट्नुपर्छ भनेर भन्न सकेका छैनन् । सबैको मुखमा एकता नै एकता छ । एकता कायम गर्नुपर्ने विषयमा सबै नेता मौखिक रूपमा सहमत छन् ।

तर क्रियाकलाप एकता मजबुत गर्ने गरी भइरहेका छैनन् । पार्टी बैठक नभएको भन्दै प्रचण्डसहित सचिवालयका ५ नेताहरू छुट्टै बैठक र छलफल गरिरहेका छन् । जसलाई प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै गुटगत भेला र अभ्यास भन्छन् । ओली पक्षले समेत पूर्व एमाले पक्षधर नेता र कार्यकर्तासँग जनताको बहुदलीय जनवाद (जबज) ब्यूताउने अभ्यास स्वरूप बैठक र भेला गरिरहेका छन् । मदन भण्डारी फाउण्डेसनका नाममा एकपक्षीय भेला भइरहेका छन् । जसलाई रोक्नुपर्ने प्रचण्ड पक्षको माग छ ।

पार्टी एकीकरण हुँदा वैचारिक बहस महाधिवेशनमा गर्ने र तबसम्म थाती राख्ने सहमति भएको थियो । तत्कालीन एमालेले मानेको जबज र माओवादी केन्द्रले मानेको २१ औं शताब्दीको जनवादलाई मिलाएर जनताको जनवाद (जज) निर्माण गर्ने प्रयास भइरहेका थिए । तर ओली पक्षले जबजको बहसलाई अगाडि ल्याएर पूर्व माओवादी पक्षलाई चिढ्याइरहेको छ । यसरी मुखमा एकता–एकता भएपनि पार्टीभित्र बगलीमा फुट बोकेर क्रियाकलाप भइरहेका देखिन्छन् ।

सरकार जनतामा अलोकप्रिय हुनुको दोष प्रधानमन्त्री ओलीमाथि लगाइन्छ भने पार्टी एकीकरण नटुंगिनु र पार्टीका कामकारवाही अगाडि नबढ्नुको दोष अध्यक्ष प्रचण्डमाथि लगाइन्छ । काम दुवैतिर भद्रगोल छन्, एकअर्काले दोष दुवैतिर लगाएका छन् । तर आफ्नो दोष स्वीकार्न कोही तयार छैनन्, दोष लगाउनमै अग्रसर छन् । समाधानका लागि आफू सच्चिन कोही तयार छैनन्, बरु अरु सच्चिनुपर्ने शर्त तेर्स्याइएको छ । आन्तरिक रूपमा हुनुपर्ने छलफल र अभ्यास सार्वजनिक रूपमा विवाद बनेर छताछुल्ल भएको छ, नेता कार्यकर्ता रनभूल्ल छन् । नेकपाको भविष्य अन्योलमा छ ।