काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी १९९ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।
पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकमा उपाध्यक्ष डा. बेदुराम भुसालले पेश गरी पारित भएको प्रस्तावमा केन्द्रीय कमिटी १९९ सदस्यीय हुने उल्लेख गरिएको छ । केन्द्रीय पदाधिकारीको संख्या १९ हुनेछ ।
प्रदेश कमिटीहरू ७५–९९ सदस्यीय हुनेछन् । ‘थोरै जिल्ला भएको प्रदेशमा कम र बढी जिल्ला भएको प्रदेशमा बढी ७५–९९ सम्मको प्रदेश कमिटी बनाउन सकिनेछ,’ उपाध्यक्ष भुसालले भने ।
प्रदेश पदाधिकारीको संख्या ७ हुने प्रस्तावमा उल्लेख छ । जिल्ला कमिटीहरू ५५ सदस्यीय हुने प्रस्ताव छ । ‘१ मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा ५५ कायम गरी १ भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा प्रत्येक निर्वाचन क्षेत्रबाट १ महिलासहित ३ जना थप हुनेछन्,’ उनले भने ।
पालिका कमिटीहरू ४५ सदस्यीय हुनेछन् । प्रस्तावअनुसार ५ भन्दा कम वडा भएको पालिकामा ४५ र ५ भन्दा बढी वडा भएको पालिकामा प्रत्येक वडाबाट २/२ जना थप गर्न सकिने उल्लेख छ ।
पार्टीका सबै कमिटीहरू समावेशी हुने जनाइएको छ भने सबै कमिटीमा २० प्रतिशत युवा अनिवार्य हुने जनाइएको छ ।
परिषद्बाट पारित प्रस्तावलाई महाधिवेशनले पारित गरेपछि कार्यान्वयन हुने जनाइएको छ ।




प्रतिक्रिया