काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र संख्या अन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछ ।
विधानअनुसार छुट्याइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
हाल विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकोमा ३२९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उनले बताए ।
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र सक्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायतका विषयमा छलफल गर्ने तयारी छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ३ पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी सदस्य मनोनित गरिने छ ।
बैठकमा मुलुकको समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने केन्द्रीय सदस्य पाण्डेयले बताए ।




प्रतिक्रिया