सुरक्षासम्बन्धी विश्वविद्यालय खोल्ने सरकारको तयारी : सैनिक अधिकारीलाई एनडिसी गर्न विदेश जान नपर्ने


काठमाडौँ — सरकारले रक्षा र सुरक्षा मामिला अध्ययनका लागि छुट्टै विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाएको छ । विकसित मुलुकहरूमा यस्तो अध्ययन हुने भए पनि नेपालमा नभएको भन्दै स्थापनामा जोड दिइएको रक्षा मन्त्रालय स्रोतले बतायो । आरम्भमा नेपाली सेनाले ‘नेसनल डिफेन्स कलेज’ (एनडीसी) स्थापना गर्न सरकारसमक्ष प्रस्ताव राखेको थियो ।

तर सरकारले सुरक्षा (ऊर्जा, वातावरण, खाद्य, स्वास्थ्य), कूटनीतिलगायत राष्ट्रिय सुरक्षासम्बन्धी ‘थिंक ट्यांक’ का रूपमा अघि बढाउने प्रक्रिया रक्षाले छलफलमा ल्याएको छ । राष्ट्रिय रणनीति, सुरक्षा तथा रक्षा विश्वविद्यालय अहिले प्रस्तावित छ ।

अमेरिका, बेलायत, छिमेकी मुलुक लगायतमा नेसनल डिफेन्स/वार कलेज रहेको र त्यहाँ नै अध्ययनमा लागि जानुपर्ने भएपछि यस्तो परिकल्पना अघि बढाइएको हो । अघिल्लो सरकारको पालामा नै डिफेन्स/वार कलेजको विषय उठेको भए पनि अहिले तयारी थालिएको हो । सेनामा अधिकृत छानिएपछि पास आउटसम्मका सबै तालिम खरिपाटीस्थित सैनिक प्रशिक्षण प्रतिष्ठानबाट उपलब्ध हुन्छ । सरकारले यही विषयलाई ध्यानमा राखेर विश्वविद्यालयकै परिकल्पना गरेको हो । रक्षासचिव विष्णु लम्सालले विश्वविद्यालयका विषयमा प्रारम्भिक छलफल भएको बताए ।

रक्षा स्रोतका अनुसार वर्तमान रथी पूर्णचन्द्र थापाको पहलमा यो कलेजलाई अघि बढाउन लागिएको हो । उनले नेपालभित्रै विज्ञता उत्पादन आवश्यक रहेकोमा जोड दिएका थिए । यसअघि खरिपाटीबाहेक प्रमुख सेनानी बढुवाका लागि अनिवार्य मानिएको स्टाफ कलेज शिवपुरी र सहायक रथी बढुवाका लागि सैनिक शिक्षालयमा ३ वर्षअघिबाट ‘उच्च स्तरको कमान्ड कोर्स’ को सुरुवात पनि भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement