काठमाडौं– नेपाल विद्युत प्राधिकरणले तीन निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ । प्राधिकरण सञ्चालक समितिले वरिष्ठताको आधारमा उनीहरूको बढुवा गरेको हो । बढुवा हुनेमा निर्देशकत्रय माधवप्रसाद कोइराला, विज्ञानप्रसाद श्रेष्ठ र ओमप्रकाश राठी छन् ।
कोइराला र श्रेष्ठ क्रमशः चिलिमे जलविद्युत कम्पनी तथा अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । यस्तै, राठी प्राधिकरण कम्पनी व्यवस्थापन तथा अनुगमन निर्देशनालयको जिम्मेवारीमा छन् । बढुवा भएका तीनै जनालाई हाल कार्यरत रहेको ठाउँमै पदस्थापन गरिएको छ । स्थापनादेखि चिलिमेसँग जोडिएका कोइरालालाई निर्माणाधीन ४ जलविद्युत आयोजना पूरा गर्नुपर्ने तथा अध्ययन भइरहेका आयोजना निर्माण चरणसम्म लैजानुपर्ने चुनौती छ ।
चिलिमेमा रहेर अहिले निर्माणाधीन रसुवागढी र सान्जेनको अध्ययन तथा डिजाइनमा अग्रसर उनी लामो समय रसुवागढी हाइड्रो पावर कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारीमा थिए । उपकार्यकारी निर्देशकमा पदोन्नती भएका झन्डै ७ वर्षदेखि तामाकोसीमा छन् । उनले दुई वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । श्रेष्ठको नेतृत्वमा देशकै ठूलोे ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणाधीन छ ।
आगामी पुसभित्र पहिलो युनिट सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजनाको ९८ प्रतिशत निर्माण पूरा भएको छ । विराटनगर क्षेत्रीय कार्यालय तथा प्राधिकरणका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका राठी प्राधिकरणभित्र अब्बल इन्जिनियरमा गनिन्छन् । उनले उत्पादन, प्रसारण तथा वितरण तीनै क्षेत्रमा रहेर उनले जिम्मेवारी पूरा गर्दै आएका थिए ।




प्रतिक्रिया