काठमाडौं – नेपाल विद्यार्थी सङ्घले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो ।
कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताए । ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै भ्रष्टाचारको आरोप लाग्नु दुःखद् कुरा हो,’ उनले भने । अध्यक्ष ढुङ्गानाले बहुमत प्राप्त सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप समेत लगाए ।
उनले सरकारले पुस्तकमा १० प्रतिशत शुल्क बढाएर विद्यार्थीलाई समस्या पारेको बताए ।
नेविसङ्घका महामन्त्री दीपक भट्टराईले मन्त्रीको राजीनामाले मात्र भ्रष्टाचार उन्मूलन नहुने भन्दै भ्रष्टाचार गर्ने मन्त्रीलाई कानूनी कारवाही गर्नुपर्ने बताए ।
नेविसङ्घका महामन्त्री युवराज पाण्डे, बलदेव तिमल्सेनालगायतले भ्रष्टाचार गर्नेलाई कानूनी कारवाही नगरेसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने बताए ।




प्रतिक्रिया