काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच हुने भिडियो कन्फ्ररेन्सबारे नेकपाकै विदेश विभाग अनभिज्ञ रहेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चीन र नेकपा नेताहरुबीच हुने भिडियो कन्फरेन्समा विदेश विभागलाई बेवास्ता गरिएको हो ।
पार्टी र सरकार सञ्चालनबारे हुन लागेको उक्त छलफलमा नेकपाको विदेश विभागलाई सामेल नगराइएको हो । विदेश विभाग उपप्रमुख विष्णु रिजालले उक्त कन्फ्ररेन्सबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । ‘यसबारे हामीले पनि समाचार हेरेर थाहा पायौं । उक्त कार्यक्रमबारे हामीलाई जानकारी छैन्’, रिजालले काठमाडौंपाटीसँग भने ।
चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिष्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ ।
गत अक्टूबर २०१९ मा चिनियाँ राष्ट्रपति सि चिङफिनको नेपाल भ्रमषण्का बेला पार्टीलाई मजबुत बनाउन गरेको समझदारी अनुसार दुवै देशका कम्युनिष्ट पार्टीहरुबीच छलफल हुन लागेको हो ।
चिनियाँ प्राध्यापकले तयारी गरेको यो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग आयोजक छ भने नेकपा स्कुल विभाग सह–आयोजक रहेको छ ।
बैठकमा चिनियाँ विकासको मोडालिटीबारे छलफल गरिनेछ । उक्त अन्र्तक्रिया दिउँसो २ बजेबाट सुरु हुनेछ । बैठकमा दुवै देशका गरेर करिब एक सय जनाको सहभागिता रहने नेकपाका स्कूल विभागका उपप्रमुख वेदुराम भुसालले बताए ।




प्रतिक्रिया