अध्यक्षद्वयलाई नेकपा नेताको सुझावः महाधिवेशनको तयारीमा लाग्नुस्

अध्यक्षद्वयलाई नेकपा नेताको सुझावः महाधिवेशनको तयारीमा लाग्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संघीय सांसदहरुले पार्टीभित्र देखा परेको समस्या समाधानका लागि पहल नेतृत्वहरुलाई सुझाव दिएका छन् । त्यस्तै उनीहरुले महाधिवेशनको तयारीमा लाग्नु पनि सुझाव दिएका छन् ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका ७० जना नेताहरुले पार्टी एकता संकटमा परेको भन्दै जनमतको कदर गर्न आग्रह गरेका छन् ।

सांसद रामकुमारी झाँक्रीले पार्टीलाई फुटाएर जाने कुरा नसोच्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् । उनले कम्युनिष्ट पार्टी फूटाएर थप जोखिम निम्त्याउने काम नगर्न पनि चेतावनी दिएकी छन् । ‘पार्टी एकतालाई सानो परिवार बनाउने कुरा नसोच्नु’ उनले भनिन् ।

त्यस्तै उनले पद प्राप्तिका पछाडि नलाग्न पनि नेतृत्वलाई सुझाव दिएकी छन् । त्यस्तै उनले केन्द्रीय कमिटीको बैठक बस्न नसक्दा थप खतरा उत्पन्न भएको बताएकी छन् ।

‘तपाईहरुले जे गतिविधि गर्नुभएको छ । सांगठनिक हिसाबले सही पार्टी हामीलाई हस्तान्तरण गर्दै हुनुहुन्छ ? तपाईहरुले हामीलाई कस्तो पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ ? यो प्रश्नको जवाफ म नेतृत्वबाट चाहान्छु’, उनले भनिन्, ‘हामी पार्टी एकताको पक्षमा एक ढिक्का छौं । सानो पार्टी बनाएर तपाईहरुले चलाउन सक्नुहुन्न ।’

सांसद विशाल भट्टराईले जनमतको कदर गर्न नेतृत्व गर्न सुझाव दिएका छन् । उनले जनताको विश्वासमा कुठाराघात नगर्न र पार्टीभित्रको विवाद छिट्टै समाधान गर्न आग्रह गरेका छन् ।

सांसद भट्टराईले नेतृत्वको झगडा वैचारिक र सैद्धान्तिक नभएकाले पद बाँडफाँडमा केन्द्रीत भएको बताए ।

‘पार्टीभित्रको विवादले जनतालाई निराशा तुल्याएको छ । पार्टीमा देखिएका सबैखालका समस्याहरुले पार्टीलाई थिलथिलो बनाएको छ’, पत्रकार सम्मेलनमा नेताहरुले भने ।

पार्टीभित्रको विवादले जनता, कार्यकर्ता निराश बनेको भन्दै उनीहरुले पार्टी एकता टुंगो नलाग्दै फुट्ने खतरा रहेको बताएका छन् ।

पार्टी एकता जोगाउनका लागि नेकपाका सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।

नेकपाका सांसदहरु कृष्ण दाहाल, विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, लगायतको अगुवाइमा ७० जना जति सांसदको हस्ताक्षर संकलन गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाका कारण उत्कर्षमा पुग्दै आएको नेकपाभित्रको विवादले पार्टी संकटमा परेको भन्दै दोस्रो तहका नेताहरुले सक्रियता देखाउँदै आइरहेका छन् ।