सरकारविरुद्ध बोल्ने यी सात नेतालाई सोधियो स्पष्टीकरण, नेकपाले कारबाही गर्न सक्ने

सरकारविरुद्ध बोल्ने यी सात नेतालाई सोधियो स्पष्टीकरण, नेकपाले कारबाही गर्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको नीति विपरीत जथाभावी बोल्दै हिँडेको भन्दै ७ नेतालाई स्पष्टीकरण सोधिने भएको छ ।

पूर्व मन्त्रीदेखि सांसदसम्मका नेताले पार्टी नीति विपरीत सरकार र नेतृत्वको सार्वजनिक आलोचना गरेपछि कारवाही प्रक्रिया अगाडि बढेको हो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति विपरीत बोल्ने ७ जनालाई स्पष्टीकरण सोध्न महासचिव विष्णु पौडेललाई निर्देशन दिएका छन् । अध्यक्षद्वयको निर्देशन अनुसार महासचिव पौडेलले स्पष्टीकरण सोध्न शुरू गरिसकेका छन् ।

स्पष्टीकरण सोधिने नेतामा पूर्व मन्त्रीद्वय भीम रावल र जनार्दन शर्मा, जगन्नाथ खतिवडा, सूर्य थापा, रामप्रसाद सापकोटा ‘दिपशिखा’, मेटमणि चौधरी लगायत ७ जना रहेका छन् । अरुलाई महासचिव पौडेलले मौखिक स्पष्टीकरण सोध्ने र मेटमणि चौधरीलाई लिखित स्पष्टीकरण सोधिने नेकपा स्रोतले जनाएको छ ।

पूर्व मन्त्री भीम रावलले विभिन्न प्रकरणमा सरकारको आलोचना गरिरहेको, जनार्दन शर्माले कुमार पौडेल ‘इन्काउन्टर’ र लोक सेवा आयोग विज्ञापनमा सरकारविरुद्ध बोलेको, सूर्य थापा र दिपशिखाले सामाजिक सञ्जालमा आरोप प्रत्यारोप गरेको तथा मेटमणिले गुठी विधेयकको विवादका क्रममा जथाभावी बोलेका थिए । नेकपाकै नेताले पार्टी नेतृत्व र सरकारविरुद्ध जथाभावी बोल्दा नकारात्मक सन्देश गएको भन्दै विवादमा मुछिएका सबैलाई स्पष्टीकरण सोधिएको जनाइएको छ ।

पार्टीको अनुशासन नमानेको आरोप समेत लागेका नेताहरूले दिएको स्पष्टीकरण महासचिव पौडेलले अध्यक्षद्वय समक्ष पेश गर्ने र स्पष्टीकरणका आधारमा कारवाही प्रक्रिया अगाडि बढ्ने नेकपा स्रोतले जनाएको छ ।

तत्काली नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेपछि पार्टीभित्र अनुशासन कायम गर्न पार्टी नेतृत्व निर्मम ढंगले अगाडि बढेको स्रोतको दाबी छ। एकीकरण प्रक्रिया विलम्ब हुँदा पार्टी संगठन भद्रगोल भएको भन्दै नेतृत्वको आलोचना समेत हुने गरेको छ ।