नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगियो, उम्मद्वारको टुंगो आइतवार लाग्ने

नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगियो, उम्मद्वारको टुंगो आइतवार लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो भोलि आइतवार लगाउने गरी आजको बैठक सकिएको हो ।

शनिवार दिउँसोको नेकपा सचिवालय बैठकले उम्मेदवारका विषयमा प्रारम्भिक छलफल शुरू गरेको बताउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने बताए ।

सञ्चारकर्मीलाई जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भएर आएका नाममाथि अध्ययन भइरहेको बताए ।

‘आज समय अभावका कारणले भोलिको बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा, मेयर उम्मेदवारको घोषणा गर्छाैं,’ उनले भने । तल्ला कमिटीबाट न्यूनतम ३ जनाको नाम सिफारिस गरेर पठाउन भनिएपनि कतिपय ठाउँबाट सर्वसम्मत नाम समेत प्राप्त भएका उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी गराएको बताए ।

‘उहाँ गम्भीर र सिकिस्त हुनुभएको होइन । स्वास्थ्यमा केही समस्या देखिएकाले चिकित्सकले परीक्षण र अनुसन्धान गरिरहेका छन्,’ उनले भने, ‘अहिले उहाँ सामान्य अवस्थामा हुनुहुन्छ । थप रिपोर्ट आएपछि केही गर्नुपर्ने भयो भने त्यसपछि हुन्छ ।’

पार्टीले कास्की क्षेत्र नम्बर २ मा स्व। रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने चर्चा चले पनि यसको अन्तिम टुंगो आइतबारको बैठकबाट मात्र लाग्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि करिब ३ घण्टासम्म बसेको बैठकले भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेवारका विषयमा पनि छलफल गरेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।