तोकिएभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई पक्राउ गर्न अनेरास्ववियूको माग

तोकिएभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई पक्राउ गर्न अनेरास्ववियूको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले तोकिएको भन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही गर्न माग गरेको छ ।

अनेरास्ववियूले निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही अघि बढाउन सरकारसँग माग गरेको हो । संगठनका संयोजक ऐन महर र सह संयोजक रञ्जित तामाङद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा निर्धारित समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न समेत माग गरिएको छ ।

अनेरास्ववियूले गण्डकी, यूनिभर्सल र चितवन मेडिकल कलेजमा भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै ती कलेजमा विद्यार्थीमाथि गरिएको दमन सह्य नहुने समेत जनाएको छ ।  ‘यूनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुमाथि गरिएको दमन, षडयन्त्र र ज्यानमार्ने सम्मका धम्कीहरुले हामीलाई थप आक्रोशित बनाएको छ ।’

जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी शान्तीपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीहरुलाई होस्टलमा बस्ने र जीवनको शुरक्षाको प्रबन्ध मिलाउन प्रशासनलाई सचेत गराउँदछौं ।’ अनेरास्ववियूले पछिल्लोपटक दिएको १५ दिनको समयसीमा भित्र शुल्क कार्यान्वयन र समायोजन नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।