काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक नेकपा सचिवालय बैठक बोलाएका छन् ।
अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर सचिवालय बैठक डाकेका हुन् । अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओली सहभागी नहुने भएका हुन् ।
महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई बैठक अपराह्न १ बजे धुम्बाराहीमा बस्ने सूचना पठाएका हुन् ।
प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै जनपरिचालनसहितको पाँचमहिने कार्ययोजनासमेत तयार पारेका छन् ।
बैठकले रिक्त सभामुख पदमा पठाउने व्यक्तिको नाम र स्थायी समितिको बैठकको मिति तय गर्नेछ । त्यस्तै बैठकले उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ । अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका सबै ठाउँबाट समीक्षा रिपोर्ट मागेको थियो ।
वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण कार्यान्वयन भएको छैन ।




प्रतिक्रिया