काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बोलाइएको नेकपा सचिवालय बैठक बिना निष्कर्ष सकिएको हो ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख चयन र राष्ट्रियसभा सदस्यको उम्मेद्वारको विषय टुंगो लाग्न नसकेको हो । बैठक भोलि बिहान साढे ८ बजे पुनः बस्नेछ ।
बैठकमा राष्ट्रिय सभाका उम्मेदवार छनौट बारे छलफल भएपनि नटुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनले भने, ‘आजको बैठकमा राष्ट्रिय सभाका उम्मेदवारबारे छलफल भएको हो । छलफल जारी छ । त्यसबाहेक अन्य एजेण्डा थिएन ।’
आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदको निर्वाचनका लागि यही पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । नेकपाले प्रदेश २ मा राजपासँग २ २ सिटमा तालमेल गर्ने निर्णय गरेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै सभामुख चयन हुने बताएका थिए । तर, बैठकले सभामुखको विषय टुंगोमा पुर्याउन सकेन । सभामुखमा पूर्व एमाले र माओवादीले दाबी गर्दै आएका छन् । एमालेले सुवास नेम्वाङको नाम ल्याएको छभने माओवादीले अग्नि सापकोटालाई सभामुख बनाउने तयारी गरेको छ ।




प्रतिक्रिया