काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार औपचारिक निर्णय गरेको हो ।
प्रदेशसभामा यससम्बन्धी मतदान हुनुभन्दा अघि सांसदहरुलाई यस सम्बन्धमा ह्विप जारी गरिने सांसद दीपक निरौलाले जानकारी दिए ।
‘संसदीय दलको निर्णयअनुसार मतदानमा सहभागी हुने निर्णय गरेको छ,’ उनले भने, ‘यो प्रस्तावको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गर्छ ।’
बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र वागमतीमा सहमति भएको बताए ।
नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन् ।
असन्तुष्ट सांसदहरुले यस विषयमा नोट अफ डिसेन्ट लेख्ने तर पार्टी निर्णय स्वीकार्ने भएका छन् ।




प्रतिक्रिया