एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा, अध्यक्ष ओलीले उद्घाटन गर्ने


काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन गर्न लागिएको हो । आजकै दिन अर्थात् ७३ वर्षअघि विस. २००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । ‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घाटन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने ।

उनका अनुसार सोही अवसरमा एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्नेछ । गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्ष अघि थापाथलीमा सरेको थियो ।

थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घाटन हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement