नेकपा संसदीय दलमा खुले असन्तुष्टिका पोका, नेतृत्वमाथि दबाब

नेकपा संसदीय दलमा खुले असन्तुष्टिका पोका, नेतृत्वमाथि दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारका गतिविधि पार्टी र जनतासँग नजोडिएको भन्दै बेलाबेला आलोचना हुने गरेको छ । पार्टीकै शीर्ष नेताहरूले सरकारको आलोचना गर्ने गरेका छन् ।

सरकारका कामकारवाहीबारे छलफल र समीक्षा गर्ने थलो नपाएको भन्दै संसददेखि सार्वजनिक मञ्चमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताले सरकारको आलोचना गर्ने गरेका छन् । त्यस्तै दृश्य देखियो सोमबार नेकपा संसदीय दलको बैठकमा ।

बैठकमा सांसदहरूले सरकार र मन्त्रीले पार्टी नेता र सांसदका कुरा नसुनेको, मनपरी गरेको, सरकारले पार्टीमा छलफल नै नगरी काम गरेकाले कतिपय निर्णय विवादित बनेको गुनासो गरे । बैठकमा सांसदहरूले असन्तुष्टिका पोका खोलेका छन् । सोमबारको बैठकमा बोलेका २९ जनामध्ये धेरैजसोले मन्त्रीको कार्यशैली र बजेट निर्माणमा एकलौटी भएको गुनासो गरे ।

पूर्व उपप्रधानमन्त्री तथा सांसद भीमबहादुर रावलले मन्त्रीहरूले बजेट बाँडफाँटमा मनपरी गरेको भन्दै आक्रोश व्यक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको चर्को आलोचना गर्दै रावलले असन्तुष्टि व्यक्त गरेका छन् । तत्कालै मन्त्री महासेठ प्रतिवादमा उत्रिन खोजेपछि एकछिन विवाद बढेको थियो । सांसद लालबहादुर थापासँग पनि मन्त्री महासेठको जुहारी नै चल्यो ।

बैठकमा उठेका सुझावलाई लिएर मन्त्रीहरूले कार्यशैली सुधार्नुपर्नेमा उल्टै सांसदप्रति नै प्रतिवादमा उत्रिए । संसदीय दलको बैठकमा केही मन्त्रीमा राजनीतिक उदारता देखिएन । सांसदले उठाएका सवाललाई नजरअन्दाज गर्दा असन्तुष्टि अझै बढ्ने खतरा रहन्छ ।

सांसद झपट रावलले पनि बैठकमा सरकारको आलोचना गरे । ‘मन्त्रीहरूले आफूखुशी बजेट बनाएकोमा आलोचना गरेको हो,’ उनले भने, ‘कुरा राख्ने ठाउँ पाएनौं, त्यही भएर संसदमा मौनधारण गर्नुर्पयो ।’ सांसद रावलले केही दिनअघि संसद बैठकमा बोल्न समय मागेर मौन धारण गरेका थिए ।

पूर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्माले जनताका कुरा भन्नैका लागि संसदको सहारा लिनुपरेको बताए । ‘जनताका कुरा सरकारलाई सुनाउनैर्पयो, संसदबाटै हो भन्ने,’ उनले भने, ‘यस्ता फोरम नराखेपछि संसदकै सहारा लिएका हौं, संसदीय दल नियमित बसेको भए हामीले संसदमा कराउनै पर्दैन्थ्यो ।’ संसद र सार्वजनिक मञ्चमा सांसद शर्मा पनि सरकारको कडा आलोचक मानिन्छन् ।

सांसद रामकुमारी झाँक्रीले पार्टीका फोरम नहुँदा अगाडि बढ्नै नसकिएको बताइन् । ‘बोल्ने ठाउँ नै पाइएन,’ उनले भनिन्, ‘हामीले कुरा सुनाउने ठाउँ नपाएपछि सरकारलाई के सुनाउनु ?’

संसद भवन नयाँ बानेश्वरस्थित कार्यालयमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक महिनामै पोलिटब्यूरोसहित पार्टी एकताको सबै काम सकिने बताए । ‘अब अलमल हुँदैन, एक महिनामा सबै काम सक्छौं,’ उनले भने ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम राम्रै गर्दा पनि आलोचना भएको गुनासो गरे । ‘सरकारले राम्रै काम गर्दा पनि आलोचना भयो,’ उनले भने, ‘पार्टी एकता मिल्छ । सरकारले गरेका राम्रो कुराको प्रचार भएन ।’ सोमबारको बैठकमा २९ जना सांसदले बोलेका छन् भने अर्काे बैठक असार २१ गते बस्नेछ ।