काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । आइतवार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीमा पेश गर्नका लागि ५ वटा कार्यसूची तयार तयार गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीमा पेश गर्नका लागि ५ वटा कार्यसूची तयार गरिएको जानकारी दिए । ‘अध्यक्षद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनका बारेमा दुवै अध्यक्षले परामर्श गरेर प्रस्तुत गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘दोस्रो कार्यसूचीका रूपमा विधान संशोधन रहेको छ, तेस्रोमा नेपाल–भारत सीमा समस्या, चौथो केन्द्रीय कमिटीको बैठक र पाँचौंमा विविध रहेको छ ।’
सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । ‘उहाँले आफ्नो स्वास्थ्य स्थिति अत्यन्तै राम्रोसँग तीव्ररूपमा सुधार भइरहेको जानकारी गराउनुभयो । बैठकले तीव्ररूपमा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना र्गयो ।’ नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि आज दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ ।




प्रतिक्रिया