काठमाण्डु – अहिले देशभित्र उत्पन्न राजनीतिक अस्थिरताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पनि कमजोर बनाउन सक्ने आँकलन गर्न थालिएको छ । यस्तो अवस्थामा विदेशीहरूले आफ्नो इच्छाअनुसार प्रयोग गर्ने अवसरहरू बढी पाउँछन् । हाम्रो नेताहरूले आफ्नो राजनीतिक अस्तित्व जोगाउनका लागि विदेशीसँग सम्झौता गर्छन् जुन पछि डरलाग्दो हुनसक्छ ।
अहिले सत्तारूढ दल नेकपा विभाजित भएको छ । प्रमुख विपक्षी दलमा पनि एकमत छैन । साना दलहरू आफ्नै उद्देश्यमा लागेका छन् । यस्तो समयमा हाम्रो जस्तो देशका लागि झनै धेरै जोखिम बढ्न सक्छ । आन्तरिक रूपमा कुनै पनि देश बलियो हुँदा मात्रै बाहिरी शक्तिले खेल्ने मौका कम पाउने गर्छन् ।
हाम्रो नेपाली राजनीतिक दल र नेताहरूमा विश्व वा क्षेत्रीय शक्तिहरूले आफ्नो पक्षमा बोलिदियो भने त्यो गजब नत्र त्यो शक्ति राम्रो होइन भन्ने खालको धारणा राख्ने प्रवृत्ति छ । हामीले ठूला मुलुक र हाम्रा निकटका छिमेकीसँग दीर्घकालीन हिसाबले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्छ । त्यसमा एउटा दूरदृष्टि चाहिन्छ । नत्र भने नेपाललाई कसैले पनि विश्वास गर्दैन । सरकार परिवर्तन भए पनि देशको आधारभूत विदेशी नीतिमा परिवर्तन हुँदैन भन्ने कुरा सुनिश्चित गरिनुपर्ने आजको आवश्यकता देखिन्छ ।
पछिल्लो सङ्कटको समाधान नेपालकै सार्वभौम निकायहरूले खोज्नुपर्ने हुन्छ यस्तो अवस्थामा लोकतन्त्र नै धरापमा पर्न लागेको अवस्था छ भने मात्रै अन्तर्राष्ट्रिय समुदायले आफ्नो तर्फबाट खबरदारी गर्नुपर्ने हुन्छ । देशभित्र विभाजन र अस्थिरता हुँदा भूराजनीतिक चुनौती बढ्ने भएतापनि अहिलेको सरकार निर्वाचन गराउन प्रतिबद्ध भएको हुनाले हाल देखिएको अनिश्चितता लामो समय नरहने बुझिएको छ ।
पछिल्लो राजनीतिक विकासक्रममा अन्य मुलुकहरू जोडिनु भनेको देश असफल हुने बाटोमा जाने प्रारम्भिक सङ्केत रहेको बुझ्न सकिन्छ । नेपाल आफू कमजोर हुनु कुनै पनि छिमेकीलाई फाइदाको विषय होइन । र देशलाई कूटनीतिक स्वार्थको क्रिडास्थल बनाउँदा यसले द्वन्द्वहरू अवश्य बढाउँने हुन्छ । संसद् विघटनको केही दिनअघिसम्म पनि काठमाण्डूमा भारत र चिनियाँ कूटनीतिज्ञहरू उच्चस्तरीय भ्रमणमा आएका थिए । भारतको गुप्तचर निकायका प्रमुखबाट सुरु भएको भ्रमणका क्रममा भारतका स्थल सेनाध्यक्ष र विदेशसचिव पनि थपिएका थिए ।
नेकपा विभाजन रोक्न चीनको प्रयास
नेकपाभित्रको सङ्कटबारे चिनियाँ राजदूतले नेताहरू भेटेरै चासो प्रकट गर्ने गरेको विवरणमाझ चिनियाँ रक्षामन्त्री एकदिने नेपाल भ्रमणमा आएका थिए । अहिले प्रतिनिधिसभा भङ्ग भएसँगै त्यसले निम्त्याउन सक्ने अस्थिरता र सङ्कटमा बहसहरू केन्द्रित भइरहेका छन् । चीनको लागि अहिलेको सबैभन्दा चिन्ताको विषय भनेको नेकपा विभाजन हो । प्रतिनिधिसभा विघटनपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका नेता प्रचण्डलाई भेटेकी थिइन् ।
ती भेटमा चीनले नेपालमा विकास भइरहेका घटनाक्रमबारे कस्तो धारणा राख्यो भन्ने विवरण बाहिर आएका छैनन् । चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले अमेरिकी अखबार वाल स्ट्रीट जर्नललाई चीनले अरू देशको मामिलामा हस्तक्षेप नगर्ने र नेपालमा जोसुकै सत्तामा रहे पनि चीन र नेपालबीच ‘बेल्ट एन्ड रोड’ अवधारणाअन्तर्गत भइरहेका विकास सहकार्य अघि बढ्ने प्रतिक्रिया यसै साता दिएका थिए । चीनले नेपालमा आर्थिक रूपमा लगानी बढाउनका लागि केही वर्षयता राजनीतिक स्थिरतामा जोड दिँदै आएको उनीहरूका सार्वजनिक अभिव्यक्तिबाटै देखिन्छ ।
नेकपालाई एक बनाउन र त्यसलाई जोगाइराख्न बेइजिङले थुप्रै प्रयासहरू गरेको भन्ने समेत एक थरीको विश्लेषण पाइन्छ । यसबीच नेकपामा सीपीसीले सैद्धान्तिक प्रशिक्षण समेत चलाएको थियो, जसलाई नेपाली नेताहरूले ‘अनुभव आदानप्रदान’को रूपमा अर्थ्याउने गरेका छन् । दुई ठूला कम्युनिस्ट मिलेर जाँदा हासिल गर्न सकिने उपलब्धिलाई पार्टी फुट हुँदाको अवस्थाले बिथोल्ने सोचेर चिनियाँहरू चिन्तित भएको एकथरी अड्कल लगाउन सकिन्छ ।
यसैबीच बिग्रिएको यस अवस्थालाई कतिसम्म जोगाउन सकिन्छ वा थप बिग्रन नदिन के गर्न सकिन्छ भन्ने बुझ्न आइतबार चार दिने नेपाल भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली उच्चस्तरिय भ्रमणमा आएको छ ।आइतबार नेपाल आएका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली उच्चस्तरिय भेटवार्तामै व्यस्त रहेको छ ।
यसअघि चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपति तथा सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो भने आज मंगलबार प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेको छ । उनीहरुबीच केके कुराकानी भयो त्यो भने खुलाइएको छैन । यस्तो अवस्थामा चीनले कम्तीमा चुनाव नै हुने अवस्थामा पनि अझै मिलेर जाउन् भन्ने अन्तिम प्रयास गर्न सक्ने बुझिएको छ ।




प्रतिक्रिया