अराजक झुण्डबाट सुनियोजित घटना घटाइयोः नेकपा चितवन

अराजक झुण्डबाट सुनियोजित घटना घटाइयोः नेकपा चितवन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गरेको कार्यक्रममा भएको घटनाबारे आपत्ति जनाएको छ ।

शनिबार नेता पाण्डेमाथि चितवनको राप्ती नगर कमिटको तेस्रो बैठकमा नेता पाण्डेले आफ्ना भनाई राखिरहेको अवस्थामा केही युवाहरुको समूहले होहल्ला गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरेको थियो । सोही विषयमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टी नगर कमिटीको औपचारिक बैठक बसेको अवस्थामा गरिएको अभद्र व्यवहारप्रति ध्यानआकर्षण भएको जनाएका छन् ।

‘पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफल भइरहेको अवस्थामा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘कमरेड सुरेन्द्र पाण्डे कुनै गुटगत गतिविधिमा संलग्न नरहनुभएको र पार्टीभित्र देखा परेको विवाद मिलाउन गत असारमा गठन भएको कार्यदलको सदस्यको रुपमा रहेर महत्वपूर्ण भूमिका समेत निर्वाह गर्नुभएको छ ।’

शनिबार बसेको बैठक कुनै गुटगत नभई पार्टी नगर कमिटीको औपचारिक बैठक रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा कमिटी सदस्य नरहेका युवाहरुको अराजक समूह प्रवेश गरेर नेताको मानमर्दन गर्नेहरुलाई कारबाही गर्न माग गरिएको छ ।

‘नेकपा विधि र पद्धतिगत ढंगले चल्ने अनुशासनसित पार्टी हो । तर, विगत केही दिनदेखि पार्टीको विधान र केन्द्रीय कार्यालयको पाँचौं अन्तरपार्टी निर्देशनविपरित मदन भण्डारी फाउण्डेसन सञ्चालन गर्दै आएका केही अनुशासनहीन र अराजक समूहले पार्टी नेताहरुको मान मर्दन गर्ने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचारका साथै अनुशासनहीन गतिविधि गर्दै आएको जानकारी हुन आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता अराजक व्यक्तिहरुको झुण्डबाट नै सुनियोजित रुपमा उक्त घटना घटाइएको हो भन्ने हाम्रो बुझाई छ ।’