तल्ला कमिटी जम्बो बनाउने नेकपाको तयारी


काठमाडौं- केन्द्रीय तहको संरचना एकीकृत भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय विभाग, जनसंंगठनसहित तल्ला तहका कमिटीको एकीकरण प्रक्रियाको गृहकार्य अघि बढाएको छ । प्रदेश, जिल्ला र जनसंगठन एकीकरणका लागि केन्द्रीयस्तरमै कार्यदल बनाएर नेकपाले एकीकरणको गृहकार्य अघि बढाएको हो । नेकपाको अहिलेको प्रस्तावित विधानअनुसार प्रदेश, जिल्ला, वडा हुँदै प्रारम्भिक तहसम्म एकीकरण प्रक्रिया पूरा हुन्छ । यसरी प्रस्तावित सबै तहमा एकीकरण प्रक्रिया पूरा हुँदा तत्कालीन एमाले र माओवादी केन्द्रका कम्तीमा तीन लाख नेता कार्यकर्ताले विभिन्न कमिटी र विभागमा नयाँ जिम्मेवारी पाउनेछन् ।

सात लाख सदस्य, तीन लाखलाई जिम्मेवारी
पूर्वएमालेले गत चैत मसान्तसम्म तीन लाख पार्टी सदस्यको सदस्यता नवीकरण गरेको छ । तर, चुनावी वर्ष भएकाले अधिकांश जिल्ला कमिटीले नवीकरणको पछिल्लो सूची नपठाइसकेकाले पार्टी केन्द्रीय कार्यालयमा टिपाइएको रिपोर्टका आधारमा कम्तीमा एकदेखि डेढ लाख पार्टी सदस्यको विवरण रेकर्ड आइपुग्न र अपडेट गर्न बाँकी रहेको नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलको भनाइ छ । उनका भनाइलाई आधार मान्ने हो भने एकदेखि डेढ लाख पार्टी सदस्यको रेकर्ड अपडेट हुँदा तत्कालीन एमालेको मात्रै चारदेखि साढे चार लाख सदस्य नेकपाको सदस्य बन्नेछन् ।

उता, तत्कालीन माओवादी केन्द्रको तीन लाख पार्टी सदस्य रहे पनि नवीकरणसहित पछिल्लो रेकर्ड व्यवस्थित नराख्दा यकिन संख्या कति हो भन्नेमा नेताहरू अनभिज्ञ छन् । आजको नयांपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement