नेकपाभित्र जिल्ला कमिटी टुंग्याउन चटारो, स्थानीय तहको टुंगो जिल्लाले नै लगाउने

नेकपाभित्र जिल्ला कमिटी टुंग्याउन चटारो, स्थानीय तहको टुंगो जिल्लाले नै लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टीभित्र एघार महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेपनि अन्य सांगठानिक एकता प्रक्रियाले गति लिन सकेको छैन् । वैशाख ९ गते ७७ वटा जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठानिक एकताको बाँकी काम अगाडि बढाउन नसकेको हो । पार्टीको सचिवालय बैठक दुई पटक बसेपनि सांगठानिक एकताको गाँठो फुकाउन सकेको छैन् ।

नेकपाभित्र जिल्ला कमिटीमा रहने सदस्यहरु छनोट, जनवर्गीय संगठनको नेतृत्व, पोलिटब्यूरो गठन, केन्द्रीय विभागहरुको गठनको काम अगाडि बढन सकेको छैन् । सचिवालयले जिल्ला कमिटीको पूर्णता दिनको लागि प्रदेश कमिटीको नेतृत्वलाई सर्कुलर जारी गरिएको छ । यस अघि जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली तयार भएपनि केही जिल्लामा भने विवाद रहेको थियो ।

प्रदेश कमिटीलाई जिल्ला कमिटीमा रहने सदस्य थपघट गर्न सक्ने अधिकार दिइएको छ । विगतमा मापदण्ड बनाएर नै सांगठानिक एकता प्रक्रिया अगाडि बढाउने तय गरिए पनि जिल्ला कमिटीका अध्यक्ष र सचिव पूर्व अध्यक्षहरुलाई दिएपछि नेकपाभित्र मादण्डको बारेमा नै प्रश्न उठेको छ ।

नेकपा ३ नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले जिल्ला कमिटीमा रहने सदस्यहरुको तय गर्नको लागि बैठक बस्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो–पार्टीको सर्कुलेसन अनुसार केही दिनभित्र नै जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लगाएर बुझाउछौं ।’

प्रदेश कमिटीले जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली यस अघि सिफारिस भएर आएकाहरुबाटै गर्ने भएको छ । कतिपय जिल्लामा थपघट पनि हुने सम्भावना पनि बढेको छ । नाम सिफारिस गर्दा गुटको आधारमा गरिएको भन्दै केही जिल्लामा विवाद रहेको छ ।

नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जेठ ३ गतेभित्र सांगठानिक एकताको सबै काम पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो–सचिवालय र प्रदेश कमिटीले काम गरिरहेको छ, केही समयभित्र नै परिणाम आउछ ।’ नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिने बाहेकका अन्य काम बाँकी नै छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।