बधाई खाएर मन्त्री हुन नपाएका ४ जनाको शपथ भोलि

बधाई खाएर मन्त्री हुन नपाएका ४ जनाको शपथ भोलि


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकत समाजवादी पार्टीका मन्त्रिहरु हेरफेर गर्ने तयारी गरेका छन् । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एसले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गरेर अघि बढनु पर्ने विषय उठाएपछि प्रधानमन्त्री देउवाले उक्त विषय कार्यान्वयन गर्ने बताएका हुन् ।

एकीकृत समाजवादीले देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णय यसअघि नै गरिसकेको थियाे । तर, प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि नेकपा एसले आजको बैठकमा सो विषयलाई पुनः उठान गरेको हो ।

सो पार्टीका नेता झलनाथ खनालले मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री सकारात्मक रहेको बताए । बैठकपछि उनले भने, ‘प्रधानमन्त्रीले हाम्रो पार्टीको निर्णय कार्यान्वयन गर्छु भन्नुभएको छ । सकेसम्म चाँडै नयाँ मन्त्रीहरुको शपथ हुन्छ ।’

स्रोतका अनुसार एकीकृत समाजवादीका मन्त्रीहरुको शपथ भोलि अपराह्न ४ बजे राखिएको छ । एकीकृत समाजवादीले नयाँ बन्ने मन्त्रिहरुमा जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवरलाइ श्रम तथा रोजगार मन्त्रीका लागि सिफारिस गरेको छ । त्यस्तै हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।

उनीहरूकाे शपथ यसअघि २३ जेठमा पनि तय भएको थियो । उनीहरुलाई आफन्त, कार्यकर्ता, सुभचिन्तक लगायतले बधाई समेत दिएसकेका थिए । पुरानालाई फिर्ता बोलाउने विषयमा एकीकृत समाजवादीभित्रै असन्तुष्टि थियो । देउवा पनि त्यसबेला मन्त्रिपरिषद् पुनर्गठन गर्न अनिच्छुक देखिएपछि अन्तिम समयमा उनीहरुको शपथ रोकिएको थियाे ।

सहरी विकास मन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले भने सपथको अहिलेसम्म टुंगो नभएको बताए । समाजवादीले वर्तमान पर्यटनमन्त्री आले, स्वास्थ्यमन्त्री खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।