नेकपाका दुवै पक्षलाई सांसद जोगाउनै मुस्किल

नेकपाका दुवै पक्षलाई सांसद जोगाउनै मुस्किल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सभा पुनःस्थापनापछि पहिलोपटक संसद बैठक बस्दैछ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेपनि सर्वोच्च अदालतले गत फागुन ११ गते संसद पुनःस्थापना गरिसकेकाे छ । पुनःस्थापनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्ष संसदमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।

प्रचण्ड–माधव नेपाल समूह र सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले संसदमा आ–आफ्नै दाबी गर्दै आइरहेका छन् । प्रचण्ड–नेपाल समूहले आफ्ना पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन् भने ओली समूहले पनि कूल १७३ मध्ये संसदमा एक सय भन्दा बढी सांसद आफ्नाे पक्षमा रहेको दाबी गर्दै आएको छ । प्रधानमन्त्री ओलीले भर्खरै प्रमुख सचेतकमा नियुक्त गरेका विशाल भट्टराई ओली समूहसँग एक सय भन्दा बढी सांसद रहेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि एक सयभन्दा बढि सांसद छन् ।’

प्रधानमन्त्री अ‍ोलीले आफूलाई पदबाट हटाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिए । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ोलीले आफूसँग बहुमत रहेकाे बताउँदै बलियो लागेको भए हटाएर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिए ।

‘उहाँहरूलाई आफू बलियो लागेको छ भने कुस्ती खेलेरै हटाउँदा पनि भयो,’ उनले भने ।

संसद विघटनपछि काठमाण्डु उपत्यका बाहिर रहेका प्रचण्ड–नेपाल समूहका अधिकांश सांसदहरु अहिले आ–आफ्नो निर्वाचन क्षेत्रमा रहेका कारण थप केही सांसद अ‍ोलीको पक्षमा खुल्ने सम्भावना बढेको छ ।

संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेका पूर्वमाअ‍ोवादीका नेताहरु खुलेरै ओली पक्षमा लागेका थिए । प्रचण्ड–नेपाल पक्षले संसद विघटन असंवैधानिक भन्दै गर्दा सडकमा आन्दोलनको नेतृत्व गरिरहेका टोपबहादुर रायमाझी, मणी थापा, प्रभु शाह, शेरबहादुर तामाङ, गौरीशंकर चौधरी, यज्ञराज बोगटीलगायतका नेताहरु सरकारको पक्षमा उभिएका हुन् ।

आन्दोलनमा सरकारको कदमको विरोध गर्ने टोपबहादुर रायमाझी, मणी थापा र प्रभु शाह तीनै जना नेता मन्त्री बने । सरकारमा भएका नाताले अवसरको खोजीमा रहेका प्रचण्ड–नेपाल समूहका केही सांसदहरू अझै पनि ओली पक्षमा खुल्ने सम्भावना रहेको एक सांसदले बताए ।

‘प्रधानमन्त्रीको असंवैधानिक कदम भन्दै सडकमा नारा लगाइरहेका हाम्रै समूहका साथीहरूले( प्रचण्ड–नेपाल समूह) मन्त्री पद पाउने बित्तिकै कित्ता परिवर्तन गरे । अझै पनि केही अवसरवादी माननीयज्यूहरु हुनुहुन्छ । उहाँहरुलाई सरकारले कुनै पद दिए कित्ता परिवर्तन गर्ने मनस्थितिमा रहेको मैले व्यक्तिगत रुपमा बुझेको छु’, ति सांसदले भने ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले आफू निकट रहेका सांसद महेश बस्नेतलाई प्रचण्ड–नेपाल समूहका सांसदलाई आफ्नो पक्षमा पार्ने कसरत जारी राखेका छन् । उनले प्रत्यक्ष रुपमा भेटेरै सांसदहरुलाई अ‍ोली समूहमा लाग्न र मन्त्री बनाउनेसम्मका आश्वासन दिएको स्रोतको दाबी छ ।

प्रचण्ड र माधव नेपालले पनि सांसद आफ्नाे पक्षमा पार्न कसरत जारी राखेका छन् ।   प्रचण्ड–नेपाल स्वयंले फोन गरेर आफ्नो पक्षमा खुल्न आग्रह गर्दै आएका छन् । उनीहरुले नयाँ सरकार बनेपछि मन्त्री बनाउने आश्वासनसहित आफ्नो पक्षमा पार्ने दाउपेच जारी राखेका हुन् । दुवै समूहले आफ्नो पक्षमा सांसदलाई ल्याउन अनावश्यक रुपमा पदको लोभ देखाउने गरेको एक सांसदले दुःखेसो पोखे ।

नाम नबताउने सर्तमा एक सांसदले भने, ‘दुवै पक्षले पद दिने लोभ देखाएर सांसद तान्ने योजना बुनिरहनु भएको छ । यो कसैका लागि पनि फाइदाजनक छैन् । मेरा साथीहरूले दुवै पक्षबाट उत्तिकै फाेन आउन थालेको बताउनु भएको छ । ’

सांसद महेश बस्नेतले प्रचण्ड–नेपाल पक्षका प्रधानमन्त्रीसँग नजिक हुन चाहाने सांसदहरु आफूसँग सम्पर्क गर्ने अवस्थामा रहेको बताए ।

‘प्रधानमन्त्रीसँग म निकट छु र कुनै पनि परिस्थिति आइपरे महेशले ह्याण्डल गर्न सक्छ भन्ने परेको छ । प्रधानमन्त्रीले खटाउनेभन्दा पनि प्रधानमन्त्रीसँग निकट हुन चाहेका सांसदहरूले मसँग सम्पर्क गर्ने स्थिति छ’, उनले भने ।

संसदमा यस्तो छ अंक गणित

प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका कूल २२१ जना सांसद रहेका छन् । जसमध्ये नेकपाका सभामुख अग्नी सापकोटा बाहेक १७३ जना सांसद रहेका छन् । भने एक जना सांसद सानु सिवाको निधन भइसकेको छ ।

प्रचण्ड–नेपाल समूहसँग ८८ जना सांसद  छन् भने ओली पक्षसँग ८५ जना सांसद देखिएका छन् ।

साथै कांग्रेसबाट कूल ६३ जना सांसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । विजयकुमार गच्छदार र मोहम्मद आफ्ताप आलम निलम्बनमा परेसँगै हाल कांग्रेससँग ६१ जना सांसद रहेका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग कूल ३४ सांसद रहेका छन् । दुई जना सांसद निलम्बनमा परेका छन् ।

यता राष्ट्रियसभामा ओली समूहले आफ्नो बहुमत रहेको बताउँदै आएको छ । राष्ट्रियसभामा नेकपाका कूल ५० सांसद छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित २५ जना सांसद ओली समूहमा छन् भने २४ जना प्रचण्ड–नेपाल समूहसँग छन् । उपाध्यक्ष गौतम कतै पनि खुलेका छैनन् ।

ओली समूहका सांसद 

केपी शर्मा ओली
इश्वर पोखरेल
विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ्ग
बसन्तकुमार नेम्वाङ्ग
लाल प्रसाद साव
राजेन्द्र गौतम
राजेन्द्र राई
घनश्याम खतिवडा
भानुभक्त ढकाल
बिशाल भट्टराई
लिला नाथ श्रेष्ठ
रघुविर महासेठ
पार्वत गुरुङ्ग
भुमि प्रसाद त्रिपाठी
खेम प्रसाद लोहनी
कृष्ण ब राई
कृष्ण गोपाल श्रेष्ठ
महेश बस्नेत
नवराज सिलवाल
गोकुल बास्कोटा
कृष्ण प्रसाद दाहाल
पाल्देन छोपाड गुरुङ्ग
खगराज अधिकारी
विद्या भट्टराई
जगत बहादुर सुनार
कृष्ण कुमार श्रेष्ठ
केदार सिग्देल
नारायण प्रसाद मरासीनी
पद्मा कुमारी अर्याल
तिलक बहादुर महत
प्रेम प्रसाद तुलाचन्द
भुपेन्द्र बहादुर थापा
सुर्य प्रसाद पाठक
पदम गिरी
प्रदिप ज्ञवाली
छविलाल विश्वकर्मा
दलबहादुर राना
बृजेष कुमार गुप्ता
नन्दलाल रोक्का क्षेत्री
हृदेश त्रिपाठि
रविन्द्र राज सर्मा
नवराज राउत
लाल बहादुर थापा
प्रेम आले
नारदमुनि राना
गणेश सिंह ठगुन्ना
दामोदर भण्डारी
नर बहादुर धामी
भैरव बहादुर सिंह
विजय सुब्बा
मोहन बानियाँ
मोतिलाल दुगड
थम माया थापा
डा. शिवमाया तुम्बाहम्फे
सुजिता शाक्य
विना श्रेष्ठ
नविना लामा
शान्तिमाया पाख्रिन
कुमारी मेचे
राधा कुमारी ज्ञवाली
विन्दा पाण्डे
गोमा देवकोटा
निरु देवि पाल
मनकुमारी जिसी
विष्णु शर्मा
सरिता न्यौपाने
मैनाकुमारी भण्डारी
तिर्था गौतम
शान्ता चौधरी
विमला विश्वकर्मा
आशाकुमारी विक
जुली कुमारी महोतो
रेखा कुमारी झा
सरीता कुमारी गिरी
टोप बहादुर रायामाझी
लेखराज भट्ट
प्रभु साह
गौरी संखर चौधरी
शेरबहादुर तामाङ्ग
यज्ञ बोगटी
रामविर मानन्धर
धन बहादुर बुढा
माया न्यौपाने ज्ञवाली
बिमला बिक

बहुमत पुर्याउन कांग्रेस र जसपाको भर

 संसदमा आ–आफ्नो दाबी प्रस्तुत गरेपनि दुवै पक्षले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको भर पर्नुपर्ने अवस्था देखिएको छ । प्रचण्ड–नेपाल र अ‍ोली समूहले संसदमा सहयोगका लागि दुवै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । तर, जसपा र कांग्रेसले उनीहरूकाे स्वार्थका नेकपालाई तत्काल साथ नदिने मनस्थिति बनाएका छन् ।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा प्रचण्ड–नेपाल समूहमा नलाग्ने दाबी गरे । आइतबार हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफू राजीनामा नदिने र देउवासँग आफ्नो परमानेन्ट जेन्टलमेन एग्रीमेन्ट भएको दाबी गरे ।

‘म राजीनामा पत्र लेख्दिनँ, लेख्ने अवस्था पनि होइन । अविश्वासको प्रताव आए फेस गरिन्छ र पराजित गरिन्छ,’ उनले भने, ‘देउवाजीसँग मेरो परमानेन्ट जेन्टलमेन एग्रीमेन्ट भएको छ, उहाँ कुनै पनि हालतमा प्रचण्ड नेपालका पछि लाग्नु हुन्न ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् । बैठक अगावै कुन पक्षसँग कति सांसद खुलेर लागेका छन् भन्न सकिने अवस्था छैन् ।