नेकपा विवाद उत्कर्षमाः बालुवाटारमा प्रधानमन्त्रीको हस्ताक्षर अभियान

नेकपा विवाद उत्कर्षमाः बालुवाटारमा प्रधानमन्त्रीको हस्ताक्षर अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीचको असन्तुष्टी चुलिएर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा अध्यादेश जारी गरेपछि शीर्ष नेतृत्वबीचको विवाद सतहमा आएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललगायतले पार्टीमा बहुमत ल्याउने संकेत पाएका प्रधानमन्त्री ओली पनि आफूलाई बहुमत शिद्ध गर्न लागि परेका छन् । उनले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

बालुवाटार पुगेका सांसदहरुले प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकारमा रहने अधिकार रहेको भन्दै सरकारबाट हटाउने खेल स्वीकार्य नहुने बताएका छन् ।

‘जनताले पाँच वर्षका लागि ओलीज्यूको सरकारलाई चुनेर पठाएका छन् । हामीले पनि जनतासँग स्थीरताको सरकार भनेर भोट मागेका छौं । भोली जनतासँग हामीले के भनेर मुख देखाउनु ? नेताहरुको स्वार्थका कारण हामीलाई पो अफ्ठ्यारो पर्ने देखियो’, ओली निकट एक सांसदले भने, ‘जस्तोसुकै मूल्य चुकाउन हामी पछि पर्दैनौं तर, सरकार ढाल्ने खेल सफल हुन दिँदैनौं ।’

प्रधानमन्त्री ओलीसँग संसदीय दलमा स्पष्ट बहुमत रहेको सांसद कृष्ण राईले बताए । उनकाअनुसार प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा सांसदहरुले पाँच वर्षका लागि सरकार बनेकाले आफूहरुको सहयोग रहेको बताएका थिए ।

त्यस्तै भक्तपुरका सांसद महेश बस्नेतले प्रधानमन्त्री अ‍ोलीसँग स्पष्ट बहुमत रहेको दाबी गरे । उनले आवश्यकता परे बहुमत देखाउने ल्याकत रहेको र सरकार ढाल्ने खेल नखेल्न पनि चेतावनी दिए । त्यस्तै खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले सरकार ढाल्ने खेल कदापी स्वीकार्य नहुने बताए ।

नेकपाका जम्मा १ सय ७४ सांसद रहेका छन् । जसमध्ये संसदीय दलमा बहुमतका लागि ८७ जना सांसद आवश्यक पर्छ । ओलीनिकट ७८, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट ५३ र माधवकुमार नेपालनिकट ४३ सांसद छन् ।

बहुमतका लागि प्रधानमन्त्री ओलीले सांसदहरुसँगको छलफललाई तिव्रता दिँदै आइरहेका छन् । आज साँझ सचिवालय बैठक बोलाइएको छ । त्यस अगाडि नेताहरु बहुमत जुटाउन लागि परेका छन् ।