ढुक्कसँग पार्टी र सरकार चलाऔं भनेर दुई अध्यक्षको कार्यविभाजन गरेका हौं : अध्यक्ष प्रचण्ड

ढुक्कसँग पार्टी र सरकार चलाऔं भनेर दुई अध्यक्षको कार्यविभाजन गरेका हौं : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थिरता आएको भन्दै विकास निर्माणमा सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

सोमबार हेटौंडास्थित प्रदेश नम्बर ३ मुख्यमन्त्री निवासमा मन्त्रीहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता आएको बताउँदै अब मुलुकमा विकासको गति तिव्र हुने बताए । ‘नेपालमा विकासको गति तीव्र हुनेवाला छ । भारत र चीन छिमेकी भएर मात्र होइन हाम्रो प्राकृतिक र मानवीय स्रोत साधनको दृष्टिले पनि विकासले छिटो गति लिन्छ,’ उनले भने ।

सचिवालय बैठकले हालै गरेको निर्णयले पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न अध्यक्षहरूको कार्यविभाजन गरिएको बताउँदै उनले प्रदेश तीनको नाम र राजधानी चाडै तोक्न आग्रह गरे ।

‘पार्टीमा अलि बढी ध्यान र जोड मैले दिने, सरकारमा अर्को अध्यक्षले दिने भन्ने निर्णय गरिएको हो’ उनले भने, ‘राजधानी तोक्ने, नामकरण गर्ने यो प्रदेशको पनि बाँकी छ । अझै के होला कसो होला भन्ने स्थितिमा राख्न हुँदैन । केही दिनभित्रै यो कुरा टुंगिनुपर्छ ।’

केही दिनअघि बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने र वरियता क्रम भने पहिलेजस्तै अध्यक्ष ओलीलाई निरन्तरता दिने निर्णय गरेको थियो । उक्त निर्णय गर्नुका पछाडि सरकार र पार्टीलाई राम्रोसँग सञ्चालन गर्नु रहेको प्रचण्डले प्रष्ट पारेका हुन् ।

‘ढुक्कसँग सरकार र पार्टी पनि राम्रोसँग चलाऔं भनेरै निर्णय गरेका हौं,’ उनले भने, ‘म अलि बढी नै पार्टीका काममा लागिपरेको छु । देशभरि दौडिराखेको छु ।’ प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नयाँ सन्देश गएको पनि बताए ।